विभिन्न कार्यक्रम गरी दशौं विश्व स्कुल दुध दिवस मनाइने


काठमाडाैँ । नेपाल डेरी एसोसिएसनले दशौं विश्व स्कुल दूध दिवसको अवसरमा साता व्यापी कार्यक्रमको आयोजना गर्ने घोषणा गरेको छ।

‘नियमित दूध तथा दुग्ध पदार्थ सेवन, स्वस्थ र निरोगी रहन्छ विद्यार्थी जीवन’ भन्ने नाराका साथ यस वर्षको कार्यक्रम असोज ३ गतेदेखि सुरू गरि असोज ९ गते मुल समारोहका साथ सम्पन्न हुनेछ।

यो दिवस विशेषगरी विद्यालयस्तरका विद्यार्थीलाई दूधको महत्व र यसको स्वास्थ्य लाभबारे सचेत गराउने उद्देश्यले हरेक वर्ष विश्वभर सेप्टेम्बर महिनाको अन्तिम बुधबार मनाइने एसाेसिएसनले जनाएकाे छ। नेपालमा यो दिवस सन् २००० देखि मनाइँदै आएको छ, भने यस वर्षको सन्दर्भमा १०औं संस्करण नेपालमा मनाउन लागिएको हो।

कार्यक्रम अन्तर्गत, विभिन्न विद्यालयहरूमा विद्यार्थीलाई दूध सेवन गराइनेछ भने, विभिन्न आश्रम र संस्थामा रहेका बालबालिकालाई पनि दुग्ध पदार्थ वितरण गरिनेछ। साथै, सातै प्रदेशमा सरोकारवालासँग छलफल गरी दूधको महत्वबारे चेतनामूलक कार्यक्रम गरिनेछ। यस कार्यक्रमको अन्तिम दिन, असोज ९ गते, प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. राजेन्द्र मिश्रको उपस्थितिमा औपचारिक कार्यक्रम गरि साता व्यापी कार्यक्रमको समापन गरिने एसाेसिएसनले जनाएकाे छ ।

नेपालमा प्रति व्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गरिनुपर्ने भए पनि हाल ८५ लिटर मात्र उपभोग हुने तथ्यांकले बालबालिकामा दूधको अनिवार्य सेवन पुर्‍याउन आवश्यक कदम चाल्नुपर्ने देखाएको छ।