बम्जन परिवारको सहकारी साम्राज्य: जसले गरे जनताको अर्बौ बचत हिनामिना


काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदनले नेपालका सहकारीमा ज्ञानबहादुर बम्जन परिवारको जालो खुलासा गरेको छ । बम्जनकाे परिवारले सूर्यदर्शन र गोरखा सेभिङ एण्ड को-अपरेटीभ लगायत सहकारी संस्थाको बचत रकम कसरी हिनामिना गरे भन्ने विषयमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ ले खुलासा गरेकाे हाे ।

दर्जबहादुर तामाङ ब्रिटिश सैनिकबाट दोस्रो विश्वयुद्ध लडेका योद्धा थिए। उनकी जेठी श्रीमती बिबिमाया तामाङबाट ५ भाइ, २ बहिनी जन्मिए। सात सन्तान जन्माएपछि बिबिमायाको डीबी २ वर्षको नाबालक हुँदा निधन भयो। दर्जबहादुरले दोस्रो श्रीमतीका रूपमा विबिमायाकै भदैनी आइतमाया तामाङसँग विवाह गरे। आइतमायाबाट पनि चार भाइ र पाँच बहिनीको जन्म भयो। १४३ तिनै १६ दाइ(भाइ, दिदी(बहिनीको विवाह, सम्धि, सम्धिनी, माइती, ज्वाइँ प्रायः सहकारी वा नेटवर्किङ पेशामा जोडिए। त्यसमध्ये अहिले अधिकांश सहकारी डीबी बम्जन र पछि ज्ञानबहादुर बम्जनसँग जोडिएकाहरूको संलग्नतामा खुलेका र सहकारीहरूमा उनीहरूको पारिवारिक जालो व्यापक रहेको प्रतिवेदनले खुलाएको छ ।

‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ मा भनिएको छ,”दर्जबहादुर तामाङको पहिलो श्रीमती बिबिमाया तामाङको तर्फका सन्तानहरू छोराहरूः उत्तरबहादुर तामाङ, पदमबहादुर तामाङ,रमेशबहादुर तामाङ, तेजबहादुर तामाङ र डम्बरबहादुर तामाङ (बम्जन) छोरीहरूः विष्णु तामाङ र हेमकुमारी तामाङ थिए ।”

दर्जबहादुर तामाङको दोस्रो श्रीमती आइतमाया तामाङको तर्फका सन्तानहरू छोराहरूः खड्गबहादुर बम्जन, शेरबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, खिलाबहादुर तामाङ छोरीहरूः नन्दा कुमारी बम्जन निर कुमारी बम्जन, नेत्र कुमारी बम्जन, निशा भनिने भगवति बम्जन र रेश्मा बम्जन रहेका थिए । सोही परिवारहरूले वित्तीय क्षेत्रको समानान्तर अर्थव्यवस्थाको छिद्रको चरम दुरुपयोग गरे र आफूहरूलाई असाधारण रूपमा अर्बपतिको पहिचान बनाएर आज हजारौँ जनतालाई सडकमा बिच्चली बनाउन सफल भए । उनको परिवारले एक मात्रा नभई एक दर्जन सहकारी ठगीसम्मको यात्रा गरेका थिए भन्ने कुरामा तलका सहकारीहरूमा भएको नेटर्वकले प्रकाश पार्छ।

उपकार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ

ललितपुर गोरखा सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभमा बजार प्रमुख हुँदै निर्देशक भएर निस्किएपछि डीबी बम्जनका कान्छी आमापट्टिका साइला भाइ ज्ञानबहादुर तामाङ बम्जनले संस्थापक अध्यक्ष भई यो सहकारी स्थापित गरे । यस सहकारीमा २०६० सालमा केरानाथ शर्मा उपाध्यक्ष बनेका थिए। हाल शिवशिखर र तुलसी सहकारी चलाएका केदारनाथ शर्माको शान्तिनगर गेटनजिकै उहिले दुई सटरको राम्रो किराना पसल थियो। उपकारमा कलेक्सन गर्नेहरूले पैसा उठाउँदै जाँदा केदारनाथ शान्तिनगरबाट सहकारीमा सबैभन्दा बढी बचत राखे मध्ये थिए। सोही सम्बन्धलाई उपयोग गर्दै उनलाई शिखर को-अपरेटिभको उपाध्यक्षमा राखिएको थियो।

कुमारी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ, चाबहिल

यस सहकारीको पनि संस्थापक अध्यक्ष उनै ज्ञानबहादुर तामाङ थिए। उनीपछि उनकै श्रीमती पुष्पाकुमारी तामाङ हुँदै सहपाठी सूर्यध्वज न्यौपानेलाई अध्यक्ष बनाए। हाल सो संस्थामा ईश्वर किराँत राई अध्यक्ष रहेका छन्।

हिमाल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ

भक्तपुर ज्ञानबहादुर तामाङको तजबिजीमा भक्तपुरमा खोलिएको हिमालमा ‘डमी’का रूपमा उपकारको कलेक्सनमा कार्यरत विज्ञान राईलाई अध्यक्ष बनाएर सञ्चालन गरिएको थियो। हाल उक्त सहकारी संस्थाको अध्यक्ष ईश्वर किरात रहेका छन्। यसको पनि संस्थापक अध्यक्ष ज्ञानबहादुर बम्जन नै रहेको देखिन्छ।

बज्रयोगिनी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

यो सहकारी ज्ञानबहादुरकै स्कूलका सहपाठी सूर्यध्वज न्यौपानेलाई नै अध्यक्ष बनाएर स्थापना गरियो। ताम्राकार कम्पलेक्स न्यूरोडमा सहकारीको कार्यालय रहेको छ। अहिले सूर्यध्वज सल्लाहकार र सूर्यध्वजकी श्रीमती सुनिता कार्की अध्यक्ष रहेकी छिन्।

लालीगुराँस सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ

डीबी बम्जनकी श्रीमती कुमारी तामाङ संस्थापक अध्यक्ष रहेर नयाँ बजारमा कार्यालय राखी सञ्चालन गरिएको थियो। स्थापनाकालमा डीबी बम्जनका भाञ्जी ज्वाईं धनबहादुर तामाङ प्रवन्ध निर्देशक थिए। डीबी बम्जनकी भाञ्जी संगीता तामाङ गोरखा विकास बैङ्कको एचआर, एडमिन र प्रोक्युरमेन्टमा काम गर्थिन्। उनैमार्फत धनबहादुर तामाङ लालिगुराँसको अध्यक्ष बनेका थिए।

यूनाइटेड गोरखा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ

केही कर्मचारीहरूले स्थापना गरेका यूनाइटेड गोरखा सेभिङ्ग एण्ड क्रेडिट कोअपरेटिभ लि.मा पनि डीबी बम्जनकी भान्जी संगीता तामाङ नै हालकी अध्यक्ष रहेकी छन्। उपकार सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.मा ज्ञानबहादुर बम्जनले आफूले छोडेपछि भान्जी संगीताका बुवा नरेन्द्र बललाई अध्यक्ष बनाएका थिए। अहिले कल्याणसँग एकीकरण भई कल्याण उपकार बनेको छ र उनका अर्का ज्वाइँ लीलाबहादुर गुरुङ अध्यक्ष रहेका छन् ।

स्वर्णलक्ष्मी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

कालीमाटी स्वर्णलक्ष्मी सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. कालीमाटी यही समूहले जवरजस्ती कब्जा गरेको थियो। ज्ञानबहादुर बम्जनको टिमले हिमाल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. भक्तपुरको स्टाफ कल्पना श्रेष्ठलाई ल्याएर अध्यक्ष बनाइएको थियो। त्यसअघिका अध्यक्ष निर्मलराज पौडेललाई कार्यालयमै कुटपिट समेत गरिएको थियो भन्ने निकै चर्चा थियो। हाल उक्त सहकारी अन्य सहकारीसँग एकीकरण भई बहुउद्देश्यीय सहकारीका रूपमा क्रियाशील छ।

मुकूल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

बालुवाटारमा ज्ञानबहादुर बम्जनकै योजनामा मुकूल सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.स्थापना गरियो। यसको अध्यक्ष प्रतिमा गिरीलाई बनाइएको थियो।

देवदर्शन सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

देवदर्शन सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि.थानकोट, चन्द्रागिरिमा स्थापना गरियो। यसको अध्यक्ष डीबी बम्जनका भतिजा ईश्वरराज बम्जनको श्रीमती सावित्री तामाङ र उपाध्यक्ष ज्ञानबहादुर बम्जनको श्रीमती पुष्पाकुमारी तामाङलाई बनाइएको थियो। हाल उक्त सहकारीका अध्यक्ष रामनारायण घिमिरे रहेका छन् ।

शिखर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

ठिमी शिखर सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि।, ठिमीको अध्यक्ष सुरूमा डीबी बम्जनका भान्जी ज्वाइँ धनबहादुर तामाङ रहे। यसको उपाध्यक्षमा २०६५ सालतिरै केदारनाथ शर्मालाई राखेको देखिन्छ ।

गोरखाद्वीप सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

गोरखाद्वीप सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. मा तेजबहादुर तामाङ (डीबी बम्जनको काइँला दाइ) अध्यक्ष रहेका थिए। २०६६ सालसम्म गोरखा विकास बैङ्कका अध्यक्ष डीबी बम्जन नै थिए। बैङ्क संकटग्रस्त हुने भएपछि शिखर सेभिङ्ग एण्ड क्रेडिट को(अपरेटिभ लि। र बागबजारस्थित गोरखाद्वीप सेभिङ्ग एण्ड क्रेडिट को- अपरेटिभ लि.को बचत समेत डुब्ने स्थिति सिर्जना भयो। अनि एकीकरण गरी शिखरद्विप बनाइएको थियो र शिवशिखर कृषि सहकारीसँग एकीकरण भएपछि हाल शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था भयो।

कल्याण सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

जावलाखेल कल्याण सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. जावलाखेलमा सञ्चालनमा ल्याइयो। डीबी बम्जनले बहिनी ज्वाइँ लिलाबहादुर गुरुङ (एलबी गुरुङ) लाई अध्यक्ष बनाएका थिए।एलबी हाल सहकारी ठगी मुद्दामा मुद्दा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका छन्। गुरुङ गोरखा विकास बैङ्कमा कानून शाखामा कार्यरत हुँदा डीबी बम्जनसँग सँगत भई पारिवारिक नातामा गाँसिएका थिए।

कस्मिक सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

कस्मिक सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि. नयाँ बानेश्वरमा खिलाबहादुर बम्जन (ज्ञानबहादुर बम्जन पट्टीको कान्छो भाइ) लाई अध्यक्ष बनाई खोलिएको थियो। यसमा पहिल्यै संकट देखिएको थियो। मनोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि. कालिमाटी ज्ञानबहादुर बम्जनले भान्जा सन्तोष तामाङ्लाई पनि सहकारीमा आबद्ध गराएका थिए। भान्जी संगीताको भाइ सन्तोष कालिमाटीस्थित मनोकांक्षा बचत तथा ऋण सहकारी संस्था लि. मा कार्यरत थिए।

जनमुक्ति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि

धुम्बाराही जनमुक्ति सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लि। धुम्बाराहीमा सञ्चालनमा रहेको थियो। जसको अध्यक्ष रमेश बम्जनलाई (डीबी बम्जन पट्टीको साइलो दाइ) अध्यक्षमा राखियो। जनमुक्ति सहकारी पछि घेदुङ सहकारीसँग एकीकरण भयो। अहिले आइडियलल यमुना हुँदै एकीकरणबाट आइडल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. बनेको छ।