संस्थाहरूले एक सदस्यलाई पुँजीको कोषको १० प्रतिशत भन्दा बढी ऋण लगानी गर्न नपाउने


काठमाडौँ । सहकारी संस्थाहरुले एक सदस्यलाई पुँजीको कोषको १० प्रतिशत भन्दा बढी ऋण लगानी गर्न नपाउने भएका छन् ।

काठमाडाैँ महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा पालना गर्न दिएको १५ बुँदे निर्देशनले यस्तो व्यवस्था गरेको हो । महानगरले सहकारी संस्थाहरूले नक्कली ऋणी खडा गरी लगानी नगराउन, धितो वा जमानी नराखी न्यून धितो राखी ऋण लगानी नगर्न निर्देशन दिएको छ।

सहकारीको उद्देश्य तथा कार्यक्षेत्र विपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्ने, संस्थाको बचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घर जग्गाको किनबेच वा कारोबारमा लगानी नगर्न निर्देशन दिएको हो ।

सहकारी संस्थाले प्रदान गर्ने बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गर्न पाउने छैनन् । प्राथमिक पूँजी कोषको १५ गुणाभन्दा बढी हुने गरी बचत सङ्कलन नगर्न निर्देशन छ ।

विभागका अनुसार एकाघरका सदस्य र एकभन्दा बढी सहकारी संस्थाको सञ्चालक समितिमा नराख्न पनि निर्देशन दिएको छ । सञ्चालक समितिका ४९ प्रतिशत सदस्यहरूलाई एकैपटक ऋण लगानी नगर्ने र एकै व्यक्ति वा परिवार भित्रका व्यक्ति सञ्चालक समिति र प्रबन्धकको दोहोरो जिम्मेवारीमा नरहने गरी काम गर्न समेत आग्रह गरेको छ ।