एक वर्षमा बिमा प्रिमियम ८.३४ प्रतिशतले वृद्धि, ४३.३ प्रतिशत जनसंख्या बिमाको दायरामा


काठमाडाैँ । आर्थिक वर्ष २०८०/८१ मा बिमा प्रिमियम सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ।  अर्थमन्त्रालयले सार्वजनिक गरेको पछिल्लो आर्थिक बुलेटिन अनुसार कुल बिमा प्रिमियम सङ्कलन ८.३४ प्रतिशतले वृद्धि भई रु १ खर्ब ९७ अर्ब ८० करोड पुगेको छ, जुन आर्थिक वर्ष २०७९/८० मा रु १ खर्ब ८२ अर्ब ५७ करोड थियो।

सङ्कलित प्रिमियममा जीवन बिमाको हिस्सा ७९.० प्रतिशत रहेको छ भने निर्जीवन बिमाको हिस्सा २१.० प्रतिशत छ। यो आर्थिक वर्ष २०७९/८० काे तुलनामा केही परिवर्तन भएको देखिन्छ, जसमा जीवन बिमाको हिस्सा ७८.० प्रतिशत र निर्जीवन बिमाको हिस्सा २२.० प्रतिशत थियो।

असार २०८१ सम्म बिमालेख संख्या १ करोड ३८ लाख ८१ हजार पुगेको छ, जसमा म्यादी, लघु म्यादी, र वैदेशिक रोजगार बिमालेखहरूको संख्या पनि समावेश छ। बिमाको दायरामा आएको जनसंख्या २०८१ असारसम्म ४३.३ प्रतिशत पुगेको छ, जबकि वैदेशिक रोजगार बिमालेख संख्या २७.० प्रतिशतले बढेर २० लाख ६९ हजार ४२ पुगेको छ।