काठमाडाैँ । ‘समृद्धिका लागि सम्पदा संरक्षण’ नाराका साथ ललितपुर रत्न तथा आभूषण संघ र रोटरी क्लब अफ पाटन हेरिटेजद्वारा आयोजित ‘पाटन हेरिटेज जेम एण्ड ज्वेलरी एक्स्पो–२०२४’ सोमबारसम्म लम्बिएको छ।
पाटन दरबार क्षेत्रको भण्डारखाल बगैँचामा जारी रहेको यो एक्स्पोमा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता देखिएको छ, जसले गर्दा एक्स्पोको अवधि थपिएको ललितपुर रत्न तथा आभूषण संघका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए।
महर्जनका अनुसार यो एक्स्पोले आर्थिक समृद्धि, कला र संस्कृतिको संरक्षण, साथै स्थानीय रूपमा उत्पादन हुने गरगहना प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। “यो एक्स्पोले पाटन क्षेत्रलाई आन्तरिक र बाह्य पर्यटकमाझ थप परिचित गराउन महत्वपूर्ण योगदान गर्नेछ,” उनले भने।
रोटरी क्लब अफ पाटन हेरिटेजकी अध्यक्ष सञ्जु व्यञ्जनकारका अनुसार एक्स्पोमा २५ वटा स्टलमार्फत विभिन्न प्रकारका गरगहना र अन्य वस्तुहरू बिक्री तथा प्रदर्शनीमा राखिएका छन्। “पाटन क्षेत्रमा उत्पादन हुने गरगहना प्रवर्द्धन गर्न र यहाँका व्यवसायीको आर्थिक उन्नतिमा टेवा पुर्याउने यो कार्यक्रमको उद्देश्य हो,” व्यञ्जनकारले बताइन्।
युवा पुस्तामा चर्चित ‘पाटन हेरिटेज रन वे’ कार्यक्रम एक्स्पोको अन्तिम दिन आयोजना गरिनेछ। एक्स्पो अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
कार्यक्रमलाई सफल बनाउन विभिन्न साझेदार संस्थाहरूको सहकार्य रहेको छ। ‘क्लासिक डाइमण्ड प्रालि’ पावर्ड बाइ पार्टनरको रूपमा, ‘लक्ष्मी बैंक लिमिटेड’ बैंकिङ पार्टनर, ‘सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड’ इन्स्योरेन्स पार्टनरको रूपमा रहेको छ। अन्य सहयोगी संस्थामा ललितपुर महानगरपालिका, नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल हस्तकल महासंघ लगायतका संस्थाहरूको महत्त्वपूर्ण भूमिका रहेको छ।
प्रतिक्रिया दिनुहोस्