दसैँको आगमनसँगै झिलिमिली बत्तीले सजिएको मैतीदेवी मन्दिर (फाेटाे फिचर)


काठमाडौँ । काठमाडौँको मैतिदेवी मन्दिरलाई झिलिमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । नवरात्रको निम्ति सिँगारिएको मन्दिरको साँझपखको दृश्य निकै मनमोहक देखिएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।