नेपालको पर्यटनलाई बजारीकरण पुगेनः अन्तर्राष्ट्रिय विज्ञ


काठमाडौं । मिनिङफुल टुरिजम् सेन्टर लन्डनका निर्देशक प्रा.डा. उल्फग्याङ जर्ज अरिटले नेपालको पर्यटनमा अथाह सम्भावना भए पनि बजारीकरण नपुग्दा पर्यटक आउन नसकेको बताएका छन् ।

चीनसहितका मुलुकमा लामो समयसम्म दीगो तथा अर्थपूर्ण पर्यटनका क्षेत्रमा काम गरेका प्राध्यापक उल्फग्याङले भने- “नेपालको पर्यटन साँच्चिकै अद्वितीय छ तर विभिन्न देशमा रहेका प्राध्यापकसहितका यस क्षेत्रका सरोकारवालासमक्ष मैले कुरा गर्दा नेपालबारे अनभिज्ञता प्रकट गरिरहेको पाउँछु । यो बजारीकरण नपुग्नुको परिणति हो ।”

विदेशका थुप्रै सरोकारवालाले नेपालबारे सुनेको भए पनि उनीहरूले एक पटक पनि यहाँ भ्रमण गर्न नसक्नु भनेको बजारीकरण नपुग्नुको नतिजा भएको उनको भनाइ थियो ।

ग्लोबल एकाडेमी अफ टुरिजम् एण्ड हस्पिटालिटी एजुकेसन गेट कलेजको निमन्त्रणामा नेपाल आएका प्राध्यापक उल्फग्याङले सन् २०१५ पछि नेपालको पर्यटन तथा आतिथ्य सत्कारको क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरिरहेको भन्दै सह्राहना गरे ।

“यो छोटो अवधिमा विश्वका नाम चलेका चेन होटलहरू नेपालका खुलेका छन् । यो नेपालको पर्यटन विकासका लागि उज्यालो संकेत हो, “- उनले भने ।

कार्यक्रममा नेपालका लागि स्वीस राजदूत डा डेनियल माउली नेपालका लागि न्युजिल्यान्डकी लिजा चोग्याल लगायतका पर्यटन क्षेत्रका सरोकारवालाहरूले नेपालको पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको विकासमा गेट कलेजको उपलब्धिको सह्राहना गरे ।

विश्वकै पहिलोमध्येको आतिथ्य शिक्षा प्रदायक स्वीजरल्याण्डस्थित होटलरीस्वीस स्विस होटल एसोसियन (एसएचए) को सदस्यको शैक्षिक प्रतिष्ठान  इकोल होटिलयर दे लुजान (इएचएल) को सम्बन्धनमा  होटल व्यवस्थापन विषय अध्यापन गराउँदै आइरहेको गेट कलेजले हालैमात्र नेपालको ६ दशक पुरानो पाँच तारे होटल सोल्टीसँग साझेदारी गरेको कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकत खेम लकाईँले जानकारी दिए ।

सो दीक्षान्त समारोहमा सोल्टी होटलले दीक्षित स्नातक विद्यार्थीहरूमध्ये उत्कष्ठ दुईलाई तत्कालै रोजगारीको घोषणा गरेको छ भने ती दुवै विद्यार्थीलाई कार्यक्रममै नियुक्तिपत्र प्रदानसमेत गरियो । दीक्षान्त समारोहमै पाँचतारे होटलले प्रत्यक्ष रोजगारी प्रदान गरेको यो पहिलो अवसर हो ।