लहडमा नीति बनाउनु हुँदैनः अध्यक्ष ढकाल


काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लहडका भरमा नीति बनाउन नहुने बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कतिपय नीति बनाउँदा लहडमा बनाइने तर पछि पछुताउनुपर्ने अवस्था यसअघि सिर्जना भएको भन्दै नीतिहरु बनाउँदा दीर्घकालीन सोचका साथ फाइदा पुग्नेगरी बनाइनुपर्ने बताएका हुन् ।

उनले सरकारले नेपाल राजश्व परामर्श विकास समिति गठन गरेको भएपनि गठन भएको दुई वर्षमै बन्द गरिएको भन्दै यस्ता नीतिहरु लहडमा बनाउने र लहडमा बन्द गर्ने गर्नु नहुने बताए । अनुगमनको हिसावले मात्रै राजश्व बढ्न भन्ने नहुने पनि उनले उल्लेख गरे ।

अध्यक्ष ढकालले अहिले आम नागरिकलाई आत्मविश्वास दिलाउने कुरा महत्वपूर्ण रहेको बताए । स्थिर नीति हुँदा व्यवसायहरु पनि फस्टाउने उनकाे भनाइ छ । उनले नेपालमा स्थिर नीति छ भन्ने विश्वास दिनसके छोटो समयमा नेपालको उद्योग क्षेत्र फस्टाउने बताए ।