दशैँलगायतका चाडपर्वमा हामी सबै विभिन्न प्रकारका परिकारहरू मासु, मिठाइ, तयार पार्छौं र उपभोग गर्छौं। उच्च क्यालोरी भएका मिठाइ तथा चाडो बिग्रिन सक्ने माछा–मासुको उपभोगमा वृद्धि हुन जाने हुँदा यस समयमा खानपानमा ध्यान दिनुको साथै खाद्य पदार्थको भण्डारणमा समेत विषेश ध्यान दिनु पर्छ ।यस्ता चाडबाडमा मदिराजन्य पेय पदार्थको उपभोग समेत वृद्दि हुने हुँदा स्वास्थमा समेत विषेश ध्यान पुर्याउनु पर्छ।
दशैँलाई अझ बढी आनन्दमय, स्वच्छ र स्वस्थ बनाउन केही सुझावः
१। खाद्य सामग्रीको छनोट
ताजा र स्वस्थ सामग्रीः ताजा र स्वस्थ खाद्य सामग्री छनोट गर्नुहोस्। प्याकेजिङ्गमा मिति जाँच गर्नुहोस् र म्याद नाघेका वस्तुहरू नकिन्नुहोस्। सकेसम्म स्थानीय उत्पादनहरूको प्रयोग गर्नुहोस्। स्थानीय उत्पादनहरू ताजा र पोषणयुक्त हुन्छन् ।

२। खाद्य तयारी र पकाउने प्रक्रिया
सफा हात: खाना पकाउनुअघि र पकाएपछि साबन पानीले हात राम्ररी धुनुहोस्।
सफा भाँडा: खाना पकाउने भाँडा र उपकरणहरू सफा राख्नुहोस्।
उचित तापक्रम: मासु, माछा, र अन्य खाद्य पदार्थहरूलाई उचित तापक्रममा पकाउनुहोस् । नपाकेको तथा काँचो खाद्य पदार्थमा हानिकारक सुक्ष्म जिवाणुहरु उपस्थित हुने सम्भावना रहने हुँदा विरामी हुनसक्ने जोखिम हुन्छ ।

३। खाद्य भण्डारण
ठिक तापक्रममा भण्डारण: खाद्य पदार्थहरूलाई फ्रिजमा वा चिसो स्थानमा राख्नुहोस्।
अलग-अलग भण्डारण: काँचो र पकाएको खाना अलग(अलग भण्डारण गर्नुहोस् ताकि एकआपसमा दूषित नहोस्।

४। बजारबाट किनमेल गर्दा
प्याकेजिङ्ग जाँच: प्याकेजिङ्गमा कुनै प्वाल वा क्षति छैन भनेर सुनिश्चित गर्नुहोस्।
म्याद जाँच: म्याद नाघेका वस्तुहरू नकिन्नुहोस्।

५। मासुको संरक्षण
फ्रिजिङ्ग: मासुलाई लामो समयसम्म ताजा राख्न फ्रिजमा राख्नुहोस्।घरको फ्रिजको बरफ जम्ने च्याम्वबर मा न्यनतम -१८ डिग्री सेल्सियसमा मासुलाइ भण्डारण गर्नु पर्छ ।
सफा र सुरक्षित प्याकेजिङ्ग: मासुलाई सफा र सुरक्षित प्याकेजिङ्गमा राख्नुहोस् । पुरानो तथा अन्य खाद्य पदार्थ राखेको प्याकेजिङवाट मासुलाइ विगार्ने शुक्ष्म जिवाणुको संक्रमण हुन सक्छ र मासु विग्रन सक्छ ।
पकाउनु अघि तताउनु होस्: फ्रोजन गरिएको मासुलाई फ्रिजबाट निकालेर पकाउनु अघि राम्ररी तताएर नरम बनाउनु होस् ।

६। मदिरा सेवनमा नियन्त्रण
मात्रा नियन्त्रण: मदिरा सेवन नगरेकाे राम्राे । गर्दा गर्नै परे जिम्मेवार र सुरक्षित तरिकाले उपभोग गर्नुहोस्। ठिक्क मात्रामा मात्र सेवन गर्नुहोस् । अत्यधिक मदिरा सेवनले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छ।
स्वास्थ्यकर विकल्प: सकेसम्म स्वास्थ्यकर पेय पदार्थहरूको उपभोग गर्नुहोस। फलफुलको जुस तथा अन्य स्वस्थकर विकल्पहरु अवलम्वन गर्नुहोस।
कोला जन्य पेयमा सचेतनाः कोला जन्य पेय पदार्थहरुमा चिनीको मात्रा १२-१५ प्रतिशतसम्म हुने हुँदा यसको सेवनमा सचेत बन्नुहोस् । बढी तौल भएका, डायवेटिज भएका तथा प्रिडायवेजिक व्यक्तिहरूले सके सम्म मदिरा सेवन नगर्न हितकर हुन्छ ।

७। तौल सन्तुलन
सन्तुलित आहार: चाडवाडमा खानपिन अलिक बढी खाइने हुँदा आहारलाई सकेसम्म सन्तुलित बनाइ उपभोग गर्नुहोस्। खानामा प्रशस्त मात्रामा फाइबरहरूलाई समावेश गर्नुहोस्। हरियो सागपात, मुला, काक्रो, गाजर तथा फलफूलहरू फाइवरका प्रमुख स्रोतहरू हुन । यसले खाना पचाउन का साथसाथै तौल नियन्त्रणमा समेत सहयोग गर्छ ।
नियमित व्यायाम: चाडपर्वको समयमा पनि नियमित व्यायामलाई निरन्तरता दिनुहोस्।
पानी पिउनुहोस्: पर्याप्त मात्रामा पानी पिउनुहोस् जसले गर्दा शरीर हाइड्रेटेड रहिरहन्छ ।
नुनको नियन्त्रणः खानामा नुनको मात्रालाई नियन्त्रण गर्नुहोस् । सकेसम्म चर्को नखानुहोस ।

८। उपभोक्ता अधिकार
उपभोक्ताले आफ्नो अधिकार र कर्तव्यबारे जानकारी राख्नुपर्छ। कुनै पनि समस्या भएमा सम्बन्धित निकायमा उजुरी तथा गुनासो गर्न सकिन्छ। खाद्य वस्तुको गुणस्तर तथा स्वच्छतामा केही संका लागेमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग तथा मातहतका कार्यालहरुमा गुनासो गर्न सकिन्छ । यसका साथै सरकारका अन्य विषयगत नियामक निकायहरुमा समेत सम्वन्धीत विषयहरुको उजुरी गरि उपभोक्ता अधिकार सुनिश्चित गर्न सकिन्छ।
(धिताल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत हुन्।)

 
  
                            

 
                    
प्रतिक्रिया दिनुहोस्