पक्राउ पुर्जी जारीपछि रविले भनेः कानुनलाई पुरै सघाउने छु


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुनलाई पुरै सघाउने प्रतिबद्धता जनाएका छन् ।

कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सामाजिक सञ्जाल फेसबुक मार्फत सरकारका उच्च पदाधिकारीहरूलाई भ्रष्टाचारमा संलग्न भएको आरोप लगाउँदै आफूलाई जबरजस्ती ठगीको आरोपमा फसाउने षडयन्त्र रचेकाे भन्दै कानुनलाई सघाउने बताए । उनले वर्तमान सरकार र सहकारी क्षेत्रमा भएको अनियमितताप्रति आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्, “तपाईंको हातमा तस्करले दिएको करोडौंको घडी, मेरो हातमा चाहिँ हतकडी। तपाईंले भ्रष्टाचारीसँग करोडौंको जग्गा लिने, तर मैले भने ठगीको आरोप खेप्नुपर्ने।” लामिछानेले आफू भ्रष्टाचारमा संलग्न नहुनुका बाबजुद पनि राज्यले दोषी ठहराउने प्रयास गरेको आरोप लगाएका छन्।

उनले सहकारी क्षेत्रको ८७ अर्ब अपचलनको प्रसंग उठाउँदै, यो मुद्दामा संलग्न व्यक्तिहरूलाई सरकारले जोगाउने प्रयास गरिरहेको बताए। साथै, उनले सरकारको भ्रष्टाचार विरोधी लडाइँलाई मजाक बनाएको आरोप लगाउँदै भने, “तपाईंहरूका नेताहरू प्रमाणित सहकारी ठग हुन्। कोही जेलमा छन्, कोही फरार छन्।”

लामिछानेले न्यायालयप्रति आफ्नो विश्वास व्यक्त गर्दै भनेका छन्, “सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो। तर मलाई न्यायप्रेमी जनता र न्यायालयमाथि भरोसा छ।” उनले रास्वपाका कार्यकर्ताहरूलाई विश्वासमा राख्दै सत्यको पक्षमा उभिने वाचा गरेका छन्।