बढ्दै गैर बैंकिङ सम्पत्ति, सबैभन्दा बढी ग्लोबल आइएमई बैंकको


काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पति बढ्दो अवस्थामा रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८१ भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पति ३७ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ ।

राष्ट्र बैंकको केही लचक नीतिका कारण बैंक तथा वित्तीय संस्थाहरुको नाफा बढेको भएपनि सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन बढेको छ । ऋणीहरुले साँवा ब्याज समयमा भुक्तानी नगर्दा बैंकहरुले प्रोभिजनमा राख्नुपर्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले ऋणीले कर्जा लिन राखेको धितो लिलाम सकारे भने प्रोभिजन वापत राखेको रकम फिर्ता हुन्छ । त्यसले गैर बैंकिङ सम्पति बढाउँछ भने प्रोभिजन घटाउँछ ।

२०८१ भदौसम्म वाणिज्य बैंकहरुको गैर बैंकिङ सम्पत्ति ३१ अर्ब ३८ करोड ४ लाख रुपैयाँ रहेको छ भने विकास बैंकहरुको ३ अर्ब ५९ करोड २६ लाख रुपैयाँ बराबर गैर बैंकिङ सम्पत्ति रहेको छ । फाइनान्स कम्पनीहरुको २ अर्ब ३ करोड ६३ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।

बैंकहरुले धितो लिलाम गर्न नसकेकोले बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पत्ति बढेको हो । धितो लिलाम गर्न नसकिरहेको रहेको अवस्थामा बैंकहरुको गैर बैंकिङ सम्पति बिक्री हु्ने अवस्थामा नरहेको एक बैंकरले बताए । घर जग्गाको कारोबार पनि सुस्त रहेको अवस्थामा अहिले गैर बैंकिङ सम्पति बैंकहरुको लागि गलपासो बन्दै गएको छ ।

ऋणीहरुले साँवा ब्याज भुक्तानी नगरेको कारण बैंकहरुको कर्जा बिग्रिएको अवस्था देखाउँछ । बैंक तथा वित्तीय संस्थाले धितो लिलामको लागि सूचना निकालेको तर लिलाम बिक्री नभएपछि बैंकहरुले आफ्नो नाममा बिक्री गरेका हुन् ।

धितो बिक्री नभएकोले बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो नाममा ल्याएको र आफ्नै नाममा भएको धितो पनि बिक्री गर्न नसकेकोले गैर बैंकिङ सम्पत्ति बढ्दै गएको हो ।

बैंकहरुबाट ऋण लिएकाहरुले समयमा ऋण नतिर्ने र त्यसलाई लिलामी गर्दा खरिदकर्ता नहुँदा पनि बैंकहरुले आफैँले त्यो सम्पति सकारेका हुन् । यसको मुख्य कारण भनेको आर्थिक मन्दी र घरजग्गाको कारोबार सुस्त हुनु र सहकारी संकट देखिनु मुख्य कारण रहेको छ ।

यदि सहकारी समस्यामा नगएको भए ऋणीहरुले सहकारीबाट कर्जा लिएर तिर्ने अथवा घर जग्गा बिक्री गरेर पनि तिर्न सक्थे । तर यी क्षेत्रमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थामा पनि समस्या देखिएको छ ।

एक बैंकका उच्च अधिकारीले ठुला व्यवसायीक घरानाहरुलाई समेत किस्ता तिर्नको लागि समस्या भइरहेको अवस्था देखिएको बताउँछन् । “ठुला व्यवसायीक घरानाहरुलाई पनि अहिले किस्ता तिर्न समस्या भइरहेको छ,” उनले भने, “विवरणमा यति रकम रिजर्भ छ भनेर देखिन्छ तर पैसा नभएको अवस्था रहेको छ । उनीहरुले सेयर बिक्री गरेर कर्जाको किस्ता तिरिरहेका छन् ।”
ऋणीहरुले समयमा सावाँ ब्याज भुक्तानी गर्न नसकेको कारण बैंक तथा वित्तीय संस्थाहरुको गैर बैंकिङ सम्पति अप्रत्यासितरुपमा बढेको हो । जसको कारणले बैंकहरुको गैर बैंकिङ सम्पति थुप्रिन पुगेको छ । यो सम्पतिले बैंक तथा वित्तीय संस्थाहरुको कारणले थप अप्रत्यासितरुपमा बढेर बैंकिङहरुमाथि चुनौती थपिएको छ ।

गैर बैंकिङ सम्पतिले बैंकहरुको खराब कर्जा घटेको देखाउनको लागि मद्दत गर्दछ । खराब कर्जा देखाउँदा नन पफर्मिङ लोन (एनपिएल) को प्रतिशत बढ्छ भने गैर बैंकिङ सम्पतिमा देखाए एनपिएलको प्रतिशत घट्छ । बैंकहरुको गैर बैंकिङ सम्पतिले फाइदा हुने भनेको एनपिएलको प्रतिशत कम देखाउने मात्र हो ।

२०८१ भदौ मसान्तसम्म सबैभन्दा बढी गैर बैंकिङ सम्पत्ति ग्लोबल आइएमई बैंकको रहेको छ भने स्ट्याण्डर्ड चार्टड बैंकको गैर बैंकिङ सम्पत्ति छैन । ग्लोबल आइएमई बैंकको ५ अर्ब ११ करोड ६२ लाख रुपैयाँ बराबर रहेको छ भने एन आई सी एशिया बैंकको ४ अर्ब २८ करोड ५ लाख रुपैयाँ गैर बैंकिङ सम्पत्ति रहेको छ ।

नेपाल बैंकको ७५ करोड ५६ लाख, राष्ट्रिय वाणिज्य बैंकको २९ करोड ७६ लाख रुपैयाँ, नबिल बैंकको २ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब १ करोड ६५ लाख रुपैयाँ, हिमालयन बैंकको २ अर्ब ७६ करोड १९ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ३५ करोड ३९ लाख रुपैयाँ र एभरेष्ट बैंकको ५१ करोड ६२ लाख रुपैयाँ बराबर गैर बैंकिङ सम्पत्ति रहेको छ ।

माछापुच्छे« बैंकको एक अर्ब १२ करोड ३९ लाख रुपैयाँ, कुमारी बैंकको २ अर्ब ६१ करोड २० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको एक अर्ब ६१ करोड १६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७० करोड ३८ लाख रुपैयाँ, कृषि विकास बैंकको ९५ करोड ४ लाख रुपैयाँ, सिटिजन्स बैंकको ८१ करोड ६९ लाख रुपैयाँ, प्राइम कर्मशियल बैंकको एक अर्ब ७५ करोड ८० लाख रुपैयाँ, एनएमबी बैंकको ९२ करोड ६८ लाख रुपैयाँ, प्रभु बैंकको एक अर्ब ५ करोड ९१ लाख रुपैयाँ र सानिमा बैंकको ६७ करोड ४० लाख रुपैयाँ बराबर गैर बैंकिङ सम्पत्ति रहेको छ ।