अविरल वर्षाका कारण पुष्प क्षेत्रमा १२ करोडको क्षति


काठमाडौँ । गत असोज १० गतेदेखि तीन दिनसम्म मुलुकका अधिकांश क्षेत्रमा परेको अविरल वर्षाले समग्र कृषि क्षेत्रमा ६ अर्बभन्दा बढीको क्षति पुर्‍याएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । सोही वर्षका कारण पुष्प क्षेत्रमा मात्रै १२ करोड रुपैयाँजतिको क्षति पुगेकाे फ्लोरीकल्चर एसोसिएशन अफ नेपालको निर्वतमान अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

जसमा सबैभन्दा बढी क्षति ललितपुरमा भएको छ । सो क्षतिले गर्दा तिहारमा केही मात्रामा बढी माला आयात गर्नुपर्ने उनको आँकलन छ। उनले भने,”नेपालभर तिहार र छठमा ४० लाख ओटा मालाको आवश्यकता पर्नेछ । जुन काठमाडौँमा ६० प्रतिशत र अन्य ठाउँमा ४० प्रतिशतको माग हुने गर्छ तर अविरल वर्षका कारणले गर्दा यो वर्ष अघिल्लोपटक भन्दा केही बढी आयात हुने देखिन्छ ।”

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रारम्भिक विवरण जारी गर्दै वर्षाका कारण करिब ५८ हजार ४७६ हेक्टर धानबाली नष्ट भई ३ अर्ब ५० करोड रुपैयाँको क्षति भएको जनाएको छ। सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपुर लगायतका जिल्लामा धानबाली सबैभन्दा बढी प्रभावित भएको छ।

अलैँचि खेतीमा पनि ठूलो क्षति पुगेको छ। खोटाङ जिल्लामा मात्र १,३०० हेक्टर अलैँचि नष्ट भएर ७० करोड रुपैयाँको क्षति भएको छ। त्यस्तै, पर्सामा ८५ हेक्टर उखु खेतीमा ३४ करोड रुपैयाँको नोक्सानी भएको छ।

मन्त्रालयले माछापोखरीमा पनि उल्लेख्य क्षति भएको बताएको छ। धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा १ अर्ब १३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी प्राप्त भएको छ। पाँचथर, धनकुटा, तेह्रथुम लगायतका जिल्लामा २४ पशुगोठमा क्षति पुगेको छ भने पाँचथर, इलाम, सुनसरी, धनकुटा लगायतका जिल्लामा २६ हजार २०५ पशुपन्छीको मृत्यु भएको छ। साथै, कास्की, नवलपरासी, कञ्चनपुर, रौतहटलगायतका जिल्लामा २२ हेक्टर फलफूल बगैंचामा पनि क्षति पुगेको छ।

मन्त्रालयका अनुसार, ४ हजार ७४३ हेक्टर तरकारी बाली नष्ट भएको छ भने २ वटा कोल्डस्टोरमा १६ करोड रुपैयाँको क्षति पुगेको छ। मन्त्रालय तथा मातहतका कार्यालयहरूको भौतिक संरचनामा पनि क्षति भएको छ, जसमा लालबन्दी, नक्टाझिज, गोदावरी, खुमलटार लगायतका स्थानहरू प्रभावित भएका छन्।

प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापना कार्यक्रमहरू अघि बढाउन मन्त्रालयले आकस्मिक बैठक बसी आवश्यक योजना तयार गरेको छ। खाद्य सुरक्षा क्लस्टरको बैठकमा साझेदार संस्थाहरूले राहत वितरणमा एकद्वार प्रणाली लागू गर्ने सहमति गरेका छन्। तथापि, जिल्लास्तरीय विपद् व्यवस्थापन समितिबाट निर्देश नआएकाले राहत वितरणमा केही ढिलाइ भइरहेको छ।

मन्त्रालयले प्रदेश सरकारहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा मुख्यतस् कोशी, मधेस, बाग्मती, र गण्डकी प्रदेशमा बढी क्षति भएको जानकारी दिएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आफ्नो पदबहालीको १०० दिनको अवसरमा आयोजित पत्रकार भेटघाटमा बोल्दै विपद्बाट प्रभावित किसानलाई राहत उपलब्ध गराउने विषयमा सरकारले आफ्नो सामर्थ्यले भ्याएसम्म कामअघि बढाइसकेको जानकारी गराएका थिए ।