तिहारमा कुचोको माग धेरै, काठमाडौँमा १० करोडभन्दा बढीको व्यापार हुने आँकलन


काठमाडौँ। तिहारमा फूलमाला र पालासँगै कुचाको माग पनि अत्याधिक हुने गर्दछ । नेपालका मुख्य शहरहरूमा कुचोको माग यतिबेला अत्याधिक नै हुन्छ । कुचो व्यवसायीहरूलाई आपूर्ति धान्न गाह्रो हुन्छ ।

तिहार नेपालीहरूको हर्षोल्लासको पर्व भएकाले तिहारमा प्रयोग हुने झिलिमिली बत्ती, भाइमसला, माटोको पाला, फूलमाला र कुचोको माग अन्य समयको तुलनामा दोब्बर हुन्छ ।

अझ कुचोको माग त नेपालमा भन्दा भारतीय बजारमा बढी हुने व्यवसायीहरू बताउँछन् । कुचोमा पनि झाडु र अमृषोको कुचो हुन्छ । अमृषोको कुचो भारतीय बजारमा बढी माग हुने नेपाल कुचो संघका अध्यक्ष राजकुमार कार्कीको भनाइ छ ।

यतिसम्मकी भारतीय बजारमा कुचोको मागले नेपालमा कुचोको मूल्य निर्धारण गर्छ । काठमाडौँमा गजमुखी झाडु कुचो उद्योग सञ्चालन गर्दै आएका अध्यक्ष कार्कीले कुचोको व्यापार सुरू गरेकाे २०४९ सालदेखि नै हो ।

इलाममा आफ्नो पुख्र्यौली घरमा २०३० सालमा आफू जन्मिदा पनि आफ्ना पिताले कुचाको व्यापार गरको सम्झना उनलाई छ । त्यसैले उनी पनि पुख्र्यौली पेशा २०४९ सालदेखि गर्दै आए।

काठमाडौँमा आएर व्यापार सुरू गरेको भने उनले १४ वर्ष करिव पुग्यो । कार्कीले भने, “हामीले पारिवारिक रूपमा नै काम गरिरहेका छौँ । गजमुखी झाडु कुचो उद्योग, एनके लक्ष्मी ट्रेडर्स र गृहलक्ष्मी ट्रेडर्स तीन वटा हाम्रो फर्म छ । मैले यो व्यवसाय पारिवारिक विरासतकै रुपमा पाएको हो ।”

इलाममा कार्कीका बुवाले २०३० सालमा नै व्यवसाय गर्थे भने उनी २०५० सालदेखि निरन्तर यो व्यवसाय छन् । उनी थप्छन्, “हामी सबैको लागि यो रमाइलो पर्व तिहार हो ।”

धान किसानको असार १५ झैँ तिहारमा कुचो व्यवसायीहरूलाई कुचोको चटारो छ । माघ, फागुनमा जम्मा पारेका कुचोहरू बनाउने र बेच्ने काममा भ्याइनभ्याइ छ ।

तिहारमा कुचोको पूजा गर्ने कारणले पनि माग धेरै हुने गरेको उनी बताउँछन् । कुचोलाई आफ्नो जीवनपद्धतिका रुपमा लिनुपर्ने धारणा कार्कीको छ ।

कार्कीले भने, “अहिले विशेष गरेर हामी कुचो व्यवसायीहरूको लागि यतिखेर किसानको असार १५ जस्तै हो । हामीले माघ, फागुनमा जम्मा पारेका कुचोहरूलाई हाम्रो नेपाली सनातनी परम्पराअनुसार लक्ष्मी पूजामा यसको पनि विशेष पूजा हुने भएकाले अरु समयको तुलनामा दीपावलीको समयमा धेरै नै कुचोको माग हुन्छ । कुचो हाम्रो जीवनपद्धति हो भन्ने सम्झिनुपर्छ ।”

अध्यक्ष कार्कीले तिहारको समयमा काठमाडौँ उपत्यकामा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुने गरेको बताए।। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अमृषोको कुचाको निर्यात विशेष गरी भारतमा बढी हुने बताए।

चालू आर्थिक वर्षमा मात्र भारतमा १ अर्ब बराबरको कुचो निर्यात भइसकेको छ । यही मूल्यबराबरको आन्तरिक खपत नेपालका विभिन्न सहरहरूमा हुने गरेको कार्कीको भनाइ छ । तिहारको बेलामा अन्य समयको तुलनामा चार गुणासम्म बढी कुचो व्यापार हुने गरेको छ ।

कार्कीले भने, “‘लक्ष्मीको प्रिय वस्तुका रूपमा कुचोलाई लिइन्छ । काठमाडौँ लगायत शहरमा कुचोका अतिरिक्त नाङ्लो र झाडुको माग धेरै हुन्छ ।”

कार्कीकाअनुसार दशैँ र तिहार चाडपर्व परेका दुई महिना (असोज र कार्तिक) मा अन्य १० महिनाको बराबरको व्यापार हुन्छ । गत साल तिहारमा मात्रै करिब २० करोडको हाराहारीमा कुचो विक्री भएको संघको अनुमान छ ।

यस पटक भने अमृषोको कुचोको मूल्य केही घटेकाले माग बढेपनि रकमका हिसाबले भने विगतका वर्षहरूकै हाराहारीमा विक्री हुने अध्यक्ष कार्कीले बताए। “अरू १० महिनामा जति व्यापार हुन्छ, त्यो व्यापार यो दुई महिना, दशैँ र तिहार केन्द्रित महिनामा हुन्छ । तिहारमा मात्रै गत साल २० करोडको कारोबार भएको थियो,”उनले भने, “तिहार बेला कुचो अरू बेलाको भन्दा तीन, चार गुणा बढी नै कारोबार हुन्छ । यो पटक अलिकति अमृषोको मूल्यमा गिरावट आएकाले कारोबार त बढ्यो तर मूल्य कम भएकाले फेरि पनि पोहोरकै दाँजोमा हाम्रो कारोबार हुन्छ ।”

काठमाडौँमा काभ्रेपलाञ्चोक, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, सिन्धुली लगायतका पहाडी जिल्लाहरूबाट कुचो आउने गरेको उनले बताए । उनले कुचोको मूल्य निर्धारण भारतीय बजारबाट नै हुने गरेको पनि बताए । भारतको आसाममा कुचोको ठूलो बजार भएकाले भारतको मागअनुसार कुचोको मूल्य त्यहीँ तय हुने उनको भनाइ छ । ४० रुपैयाँ परपिसबाट साढे तीन सयसम्मको कुचो विक्री गर्ने गरेको उनले बताए ।

अध्यक्ष कार्कीले यस वर्षको दीपावलीमा दीपावलीमा काठमाडौँ उपत्यकामा १० करोड भन्दा बढीको अमृषोको कुचो विक्री हुने आँकलन गरेको बताए । उनले अब अमृषो बनाउँदा गुणस्तरीय बनाउन आग्रह गरे । किसानले पनि समयमै व्यापारीहरुलाई दिने र राम्रोसँग सुकाउनुपर्ने बताए । उनले व्यवसायीहरूले पनि विपद्का कारण आवतजावतमा समस्या पर्ने भएकाले मागको आपूर्ति समयमा हुन नसक्दा कालोबजारी हुनसक्ने कुरालाई मध्यनजर गरी समयमै माग पूरा गर्न र तोकिएको मूल्य भन्दा बढीमा विक्री नगर्न आग्रह गरे ।