काठमाडाैँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयअन्तर्गत सहकारी विभागले सहकारी संस्थाहरूबाट ऋण लिएका सदस्यहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ। पछिल्लो समय कतिपय सहकारी संस्थाहरूले तरलताको समस्याका कारण आफ्ना सदस्यहरूको बचत फिर्ता गर्न नसकेको गुनासो बढेको पृष्ठभूमिमा विभागले यो सूचना जारी गरेको हो।
विभागले सहकारी संस्थामा सदस्यहरूले गरेका बचत रकम नै कर्जाका रूपमा प्रयोग हुने भएकाले ऋणी सदस्यहरूले समयमा नै ऋणको सावाँ र व्याज चुक्ता नगर्दा अन्य सदस्यहरूको बचत फिर्तामा समस्या आउने बताएको छ। विभागले प्रचलित सहकारी ऐन, नियमावली, निर्देशिका तथा मापदण्डको परिपालनामा ऋणी सदस्यहरूले सम्झौताअनुसार समयमै ऋण भुक्तानी गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
सहकारी ऐन, २०७४ को दफा ७९ र सहकारी नियमावली, २०७५ को नियम ३० अनुसार सहकारी संस्थाहरूलाई ऋण तथा बाँकी बक्यौता असुलीको प्रावधानबमोजिम कार्य गर्न पनि निर्देशन दिइएको छ। विभागले समयमै ऋण चुक्ता नगर्ने सदस्यहरूमाथि कानुनी कारबाही अघि बढाउने चेतावनी समेत दिएको छ।
प्रतिक्रिया दिनुहोस्