आईटी क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्छौः सञ्चारमन्त्री गुरूङ


काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधिको क्षेत्रमा ३ लाख रोजगारी सिर्जना गर्न काम गर्ने बताएका छन् ।

‘टेकस्पायर स्टार्टअप एण्ड आईडिया फेस्ट २०२४’ कार्यक्रमका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले सूचना प्रविधि क्षेत्रमा ३ वर्षमा ३ लाख रोजगारी सिर्जना गर्ने बताएका हुन् । उनले भने, “त्यसमा निजी क्षेत्र, शैक्षिक संस्था लगायत सबैको सहयोग चाहिन्छ । आईटीको कुनै बोर्डर छैन् । कुनै राष्ट्रियता छैन् । यसमा हामी सबै मिलेर काम गरौं ।”

कार्यक्रममा स्वागत मन्तव्य दिदै लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालले डिजिटल इकोसिस्टम प्रवर्द्धन गर्न स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको जानकारी दिदै सरकारले पूर्वाधार विकास, नीतिगत सुधार र डिजिटल गभर्नेन्समा काम गर्दै यो क्षेत्रको विकासमा अग्रसर हुनुपर्ने सुझाव दिए ।

यस्तै, नेपाल उद्योग परिसंघको आईटी काउन्सिलका अध्यक्ष अजित शाहले स्टार्टअपको विकासका लागि सरकारले पछिल्लो समय केही प्रयास गरेको र त्यसलाई अझै बढाउनुपर्नेमा जोड दिए ।

त्यसैगरी, नेपाल चेम्बर अफ कर्मसको स्टार्टअप एण्ड आईडिया कमिटीका अध्यक्ष पंकज जलानाले डिजिटल भुक्तानीमा निःशुल्क हुनुपर्नेमा भ्याट लगाएर हतोत्साहित गर्ने काम भएको बताए ।

टेकस्पायर कलेजका सीईओ तथा प्रिन्सीपल लक्ष्मण पोखरेलले स्टार्टअप र इन्नोभेसनमा काम गर्न चाहने विद्यार्थीलाई १ करोड बराबरको सिड फन्डिङको व्यवस्था गरेको र कलेजबाट वर्षमा कम्तिमा पनि १५ जना सीईओ उत्पादन गर्ने गरी अगाडि बढेको जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का सदस्य सचिव रविन्द्र ढकालले राज्यले गर्नुपर्ने काम निजी क्षेत्रले गरिरहेको बताउँदै स्टार्टअप इकोसिस्टममा विकासका लागि मुख्यगरी रिसर्च, इन्नोभेसन, इन्क्युबेसन र प्रवर्द्धनमा काम गर्नुपर्ने बताए ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक ई. उमेश गुप्ताले ६ वटा प्रदेशमा उद्यम सम्बर्द्धन केन्द्र स्थापना गर्न लागेको र त्यसका लागि २०-२० लाख बजेट प्राप्त भएको बताए ।

क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले स्टार्टअप एण्ड आईडिया फेस्ट जस्ता कार्यक्रमले डिजिटल इकोसिस्टमलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

शुक्रबारसम्म सञ्चालन हुने फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निःशुल्क अवलोकन गर्न सकिने छ । १०० बढी डिजिटल स्टार्टअप र इन्नोभेसहरूको सहभागीता रहेको कार्यक्रममा स्टिम क्याम्प, रकेट साइन्स र रोबो सकरहरू सञ्चालन हुनेछन् ।