आइएफएफसिओः भारतीय कृषि क्षेत्रको दिगो विकास र सहकारी मोडलको सफल यात्राकाे कथा

यो संस्थाले ५० करोडभन्दा बढी किसानहरूको जीवन प्रत्यक्ष रूपमा परिवर्तन गर्दै आएको छ


काठमाडाैँ । सन् १९६७ मा स्थापना भएको भारतीय किसान मल सहकारी संस्था (आइएफएफसिओ) अहिले विश्वकै नम्बर १ सहकारी संस्थाका रूपमा स्थापित छ। यो संस्था केवल आर्थिक उत्पादनमा सीमित छैन।

यसको मुख्य उद्देश्य किसानहरूको जीवनस्तर सुधार गर्नु, सामुदायिक विकासमा योगदान दिनु, र मानवतालाई केन्द्रमा राख्नु हो। भारतका ३५,००० सहकारी संस्थाहरूको स्वामित्वमा रहेको यो संस्थाले ५० करोडभन्दा बढी किसानहरूको जीवन प्रत्यक्ष रूपमा परिवर्तन गर्दै आएको छ। आइएफएफसिओले किसानहरूको हितमा सहकारी संस्थाहरूले पुर्‍याउन सक्ने योगदानको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।

आइएफएफसिओको स्थापना सन् १९६७ नाेभेम्बर ३ मा भारतका किसान र सहकारी संस्थाहरूको संयुक्त प्रयासबाट भएको हो। त्यतिबेला भारतको कृषि क्षेत्रले मलको भरपर्दो आपूर्तिमा ठूलो चुनौतीको सामना गरिरहेको थियो। सहकारी वितरण प्रणाली बलियो भए पनि मल उत्पादनका लागि पर्याप्त पूर्वाधारको अभावले भारतलाई सार्वजनिक र निजी क्षेत्रमाथि निर्भर बनाएको थियो। यस समस्यालाई समाधान गर्दै किसानहरूलाई किफायती दरमा मल आपूर्ति गर्न आइएफएफसिओको गठन गरियो।

१९६० को दशकमा कृषि उत्पादन कम हुनु र हरित क्रान्तिको चुनौतीका बीच, सहकारी प्रणालीमार्फत उत्पादन र वितरणको नयाँ मोडेल सुरु गरियो।

आइएफएफसिओको प्रारम्भिक चरण निकै चुनौतीपूर्ण थियो। सहकारीले आफ्नो उद्देश्यलाई प्राप्त गर्न भारतभर आफ्ना उत्पादन इकाइहरू स्थापना गर्ने योजनालाई प्राथमिकता दियो। यसै क्रममा सन् १९७४ मा गुजरातको कलोलमा पहिलो युरिया प्लान्ट सञ्चालनमा ल्याइयो। यसको सफलतापछि भारतभर विभिन्न स्थानमा मल उत्पादन केन्द्रहरू स्थापना गर्दै कृषि क्षेत्रमा योगदानलाई निरन्तरता दिइयो।

हरित क्रान्तिको समयमा आइएफएफसिओले किसानहरूलाई आवश्यक पोषण तत्वहरू सुनिश्चित गर्दै भारतको कृषि उत्पादनशीलता बढाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। सन् १९६० र ७० को दशकमा यसको निरन्तर मल आपूर्तिले भारतलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने यात्रामा सघायो। समयसँगै आइएफएफसिओले आफ्नो गतिविधि विस्तार गर्दै नयाँ प्लान्टहरू स्थापना गर्‍यो।

फुलपुर, ओन्ला, र काण्डला जस्ता स्थानमा मल उत्पादन इकाइहरूको स्थापना गर्दै संस्थाले आफ्नो उत्पादन क्षमता वृद्धि गर्‍यो। यससँगै किसानहरूको आवश्यकतालाई ध्यानमा राखेर सहकारीले कृषि सामग्री तथा सेवाहरूलाई थप विविधिकरण गर्न थाल्यो।

आइएफएफसिओले सन् २००० मा जापानको टोकियो मरीनसँगको साझेदारीमा आइएफएफसिओ टोकियो जनरल इन्स्योरेन्स स्थापना गर्दै बिमा क्षेत्रमा पनि आफ्नो उपस्थिति विस्तार गर्‍यो। यो संयुक्त पहलले किसान र ग्रामीण क्षेत्रका समुदायलाई बिमा सुरक्षा प्रदान गर्दै कृषि विकासलाई थप सहयोग पुर्‍यायो।

ग्लोबल ३००’ को सूचीमा आइएफएफसिओको नेतृत्व
आइएफएफसिओले सन् २०२३ मा विश्वका ३०० उत्कृष्ट सहकारी संस्थाहरूको सूचीमा पहिलो स्थान हासिल गर्‍यो। अन्तर्राष्ट्रिय सहकारी संघ (आइसिए) र युरोपियन रिसर्च इन्स्टिच्युटले यो सूची तयार पारेको हो, जसले सहकारी संस्थाहरूको आर्थिक योगदान, दिगो विकासमा भूमिका, र समुदायमा प्रभावलाई मापन गर्छ।

भारतबाहिरका परियोजनामा समेत सहभागी हुँदै आइएफएफसिओले अन्तर्राष्ट्रिय स्तरमा मल आपूर्ति सुनिश्चित गर्न कदम चालेको छ। ओमान, जोर्डन, र सेनेगलमा सुरू भएका परियोजनाहरूले भारतलाई कच्चा पदार्थको आपूर्ति गर्न सहयोग पुर्‍याएका छन्।

नयाँ प्रविधिहरूको उपयोगमा पनि आइएफएफसिओ अगाडि छ। जैविक मल उत्पादन र न्यानोप्रविधिको प्रयोगले संस्थालाई दिगो कृषि समाधानको विकासमा सक्षम बनाएको छ। सहकारीले वातावरणमैत्री कृषि उत्पादनको प्रवर्द्धनमा ध्यान केन्द्रित गर्दै जलवायु-स्मार्ट कृषि उत्पादनहरूमा लगानी गरिरहेको छ।

आइएफएफसिओले डिजिटल माध्यमहरूमार्फत किसानहरूको पहुँचलाई अझ प्रभावकारी बनाउने योजना अघि सारेको छ। सहकारीले किसानहरूको जीवनस्तर उकास्न, कृषि उत्पादनलाई प्रोत्साहन दिन र भारतलाई कृषि आत्मनिर्भर बनाउने यात्रालाई अगाडि बढाइरहेको छ ।

सन् २००० को दशकमा आइएफएफसिओ वित्तीय र व्यवस्थापन संकटमा परेको थियो। तर, सहकारीका प्रबन्ध निर्देशक डा. उदय शंकर अवस्थीको नेतृत्वमा यस संस्थाले नवप्रवर्तनलाई अंगाल्दै नयाँ रणनीतिहरू लागू गर्‍यो। “सहकारी टर्नअराउन्ड” को सूत्रमा पारदर्शी नीति, प्राविधिक सुधार, र सामुदायिक कार्यक्रममार्फत सहकारीलाई पुनः जागृत गरियो।

आइएफएफसिओको सहकारी मोडेलले भारतीय कृषि क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउँदै दिगो विकासको उदाहरण प्रस्तुत गरेको छ। त्यतिमात्रा नभई आइएफएफसिओले एक सहकारी समाजको रूपमा सञ्चालित छ, जसलाई ३५,००० भन्दा बढी सहकारी संस्थाहरूले स्वामित्व गरेका छन्, जुन लाखौं किसानहरूलाई प्रतिनिधित्व गरेकाे छ ।