काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक अस्थिरताका कारण निर्माण व्यवसायी लगायत अन्य व्यवसायीहरु मारमा परेको बताएका छन् ।
सोमवार काठमाडौँमा नेपाल निर्माण उद्योग परिषद्को कार्यलय उद्घाटन कार्यक्रममा महासचिव पोखरेलले राजनीतिक अस्थिरताको कारण स्थायी सरकार बन्न नसक्दा निर्माण उद्योगमा समस्या परेको बताएका हुन् ।
उनले हरेक तीनदेखि ६ महिनामा सरकार परिवर्तन हुने र बजेटमा निर्माण आयोजनाहरु आफू अनकुुल थप्ने तथा पुराना आयोजनाहरुलाई बजेट नहाल्ने हुँदा निर्माण क्षेत्रले भुक्तानीको समस्या भोग्नुपरेको उल्लेख गरे ।
राजनीतिक स्थिरता हुँदा नीतिगत स्थिरतासँगै उद्योग व्यवसायमा समेत सकारात्मक असर पर्ने उनकाे भनाइ छ । नेपालको निर्माण लगायत उद्योग व्यवसाय क्षेत्रमा राजनीतिक अस्थिरताको कारण असर परिरहेको उनले उल्लेख गरे ।
उनले देश बनाउनको लागि सबैले नयाँ ढङ्गले सोच्न आवश्यक रहेको बताए । नेपाली युवा बाहिर जाने र नेपालमा विदेशबाट आएर काम गर्ने वातावरण बनेको उनकाे भनाइ छ ।
उनले यस्तो हुँदा बाहिर जाने युवाहरुले मुलुकमा रेमिट्यान्स ल्याए जस्तै नेपालको पैसा बाहिर जाने गरेको उल्लेख गरे। मुलुकभित्र पर्याप्त मात्रामा सामथ्र्य भएपनि मुलुकको सामथ्र्य समान गर्नसक्ने राज्य कमजोर बनाइएको उनले बताए ।
राज्यसँग भिजन भएको नेतृत्व, बलियो राजनीतिक दल र राजनीतिक स्थायीत्व भएमात्रै देश बन्ने उनकाे भनाइ छ । उनले नेकपा एमाले र नेपाली काँग्रेसले चाहेको खण्डमा मात्रै राजनीतिक स्थायित्व प्राप्त हुनसक्ने बताए ।
पछिल्लो समय सत्य कुरा बताउँदा शंकर पोखरेलले दुई दलिय प्रणाली ल्याउन खाेज्याे भन्ने आराेप लागेकाे उनले बताए । लोकतन्त्रमा एक वा दुई दलिय नहुने उनकाे भनाइ छ ।
उनले लोकतन्त्रमा जसले पनि विकल्प दिनसक्ने बताए । देश बनाउन जनता पनि देश बनाउने बाटोमा हिड्न तयार हुनु पर्ने उनले उल्लेख गरे ।
उनले राजनीतिक दल, राजनीतिक नेतृत्वलाई गाली गरेर मात्रै देश नबन्ने उल्लेख गरे । बदुलिय व्यवस्थापछि मुलुकमा राजनीतिक स्थायित्व अहिलेसम्म आउन नसकेको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्