काठमाडौँ । वर्तमान कृषि विकास रणनीतिको अवधारणा नै कमजोर भएको भन्दै पुनर्लेखन अपरिहार्य रहेको सरोकारवालाहरूले बताएका छन् । आज मन्त्रालयमा कृषि विकास रणनीतिको समिक्षा सन्दर्भमा खाद्यका लागि कृषि अभियानको तर्फबाट धारणा प्रस्तुत गर्ने क्रममा हालको रणनीतिप्रति असन्तुष्टि व्यक्त गर्दै सरोकारवालाहरूले पुनर्लेखनको माग गरेका हुन् ।
खाद्यका लागि कृषि अभियानका तर्फबाट डा.कृष्णप्रसाद पौडेलले वर्तमान रणनीतिको मूल अवधारणा नै कमजोर भएको भन्दै पुनर्लेखन अपरिहार्य रहेको धारणा राखे। उनले दातृ संस्थाको प्रभावमा निर्माण गरिएको रणनीति तल्लो तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे ।
त्यस्तै राष्ट्रिय किसान समूह महासंघबाट केदार कोईरालाले कृषि विकास रणनीतिलाई प्रदेश र स्थानीय तहले अंगिकार नगरेसम्म रणनीति जस्तो बनेपनि कार्यान्वयन फितलो हुने बताए । यता कृषि विज्ञ छवि पौडेलले कृषि अनुदान र कर्जाबाट ठूला व्यापारी मात्रै लाभान्वित भएको र साना किसानले न्याय महशुस गर्नसक्ने रणनीति आवश्यक रहेको बताए । उनले जमिन, जलस्रोत, जनशक्ति, र जंगललाई समेट्ने न्यायोचित उत्पादन प्रणालीको रणनीति आवश्यक रहेकाे औंल्याए ।
कार्यक्रममा बोल्दै अभियानका संयोजक उद्वव अधिकारीले नेपालमा नीति र रणनीतिले भौगोलिक विविधतालाई अवमूल्यन गरेको बताए । किसानी छोड्न तयारी अवस्थामा रहेको किसानसँग राज्यलाई सुनाउने थुप्रै गुनासो रहेको बताउँदै, प्राङ्गारिक खेतिको अभियानको नेतृत्व सरकारले गर्नुपर्नेमा आफूले अभियान चलाउनु पर्ने अवस्थामा नै दुखद रहेको अधिकारीले बताए ।
उनले नेपाल जस्तो बहुसंख्यक किसान भएको देशमा खेति किसानले गर्ने कि कम्पनीले गर्ने भन्ने अन्योलता रहनुले कृषि क्षेत्रको दुरावस्ता प्रष्ट पारेको बताए ।
कृषिमन्त्री रामनाथ अधिकारीले आफू किसानको हितका लागि प्रतिबद्ध रहेको र नेपालको कृषि आत्मनिर्भरता आफ्नो मुख्य उद्देश्य भएको बताए । उनले सहभागीहरूसँग प्राप्त सुझावलाई रणनीतिमा समावेश गर्ने र किसानको हितमा दीर्घकालीन उपाय अपनाउने प्रतिबद्धता जनाए।
कार्यक्रममा उठेका विषयहरूकाे सम्बोधन गर्दै परिमार्जन समितिका संयोजक गणेशराज जोशीले चार बर्षमा निर्माण भएको रणनीति चार महिनामा परिमार्जन गर्नुपर्ने समितिको बाध्यता रहेकाे बताए । कृषि क्षेत्रमा धेरै अनिश्चितता रहेको बताउँदै उनले कृषि क्षेत्रको रणनीति विकास गर्ने कुरा चुनौतिपूर्ण रहेको बताए । उनले कृषि उत्पादनका तुलनात्मक लाभका क्षेत्रहरूलाई रणनीतिमा विशेष ध्यान दिईएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्