काठमाडौँ। आइसिटी क्षेत्रको सबैभन्दा प्रतिष्ठित र लोकप्रिय आइसिटी अवार्ड २०२४ मा ४ विधाका उत्कृष्ट ५ सार्वजनिक गरिएको छ । स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड र सोसल इन्नोभेसन आइसिटी अवार्डका उत्कृष्ट ५ घोषणा गरिएको छ ।
उत्कृष्ट ५ छनौटका लागि मंसिर १ गते बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म ग्राण्ड जुरी सेसन सञ्चालन भएको थियो । अवार्डका सेमिफाइनलिष्टहरू १४ जना विज्ञ जुरी समक्ष प्रिजेन्टेसन तथा स्पिड डेटिङमा सहभागी भएर प्रस्तुती दिएका थिए ।
उनीहरूको प्रस्तुती, इन्नोभेसन, आइडिया र स्टार्टअपको बारेमा कान्तिपुर टेलिभिजनमा विशेष टेलिभिजन शो समेत प्रशारण भइरहेको छ ।
उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा बसियो सर्भिसेस प्रालि, क्रिमसन टेक प्रालि, फ्यान्टासी गेम्स प्रालि, जियोभेसन नेपाल प्रालि र हेल्थ याद आयो प्रालि रहेका छन् । यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा एपीआईएमएस म्यानेजमेन्ट सिस्टम, ईनिर्माण, जिकवच, खातापाना वेब र कोइली रहेका छन् ।
त्यस्तै राइजिङ स्टार इन्नोभेसन विधामा बालि विज्ञान, डा। फिस, हाइपर्स, स्पीकअप नेपाल र राइट अन एआई परेका छन् ।
साथै यसैवर्षदेखि थप भएको सोसल इन्नोभेसन विधामा कताहो, ईकागजपत्र, जियोकृषि, एलएमसी अलर्ट र सफा नेपाल पर्न सफल भएका छन् । आइसिटी अवार्ड २०२४ का यी ४ विधाहरुमा ३०० बढिको नोमिनेसन प्राप्त भएको थियो । यसअघि स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा सेमिफाइनलिष्टहरू छनौट गरिएको थियो ।
सेमिफाइनलिष्टहरूले मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट र गत कात्तिक २९ र ३० गते भएको टेकस्पायर स्टार्टअप आईडिया फेस्ट २०२४ मा सहभागी हुने अवसर समेत प्राप्त गरेका थिए । उत्कृष्ट ५ सार्वजनिक भएसँगै पब्लिक पनि भोटिङ सुरू भएको छ । पब्लिक भोटिङ हाम्रो पेमार्फत गर्न सकिने छ । स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसल इन्नोभेसन विधामा जुरीको मूल्यांकन र पब्लिक भोटका आधारमा सर्वोत्कृष्ट छनौट गरिने छ ।
साथै अवार्डका सेमिफाइनलिष्टहरू पब्लिक च्वाइस आइसिटी अवार्ड २०२४ मा सहभागी हुन पाउने छन् । हाम्रो पेबाटै आफुलाई मन पर्ने सेमिफाइनलिष्टहरूलाई भोट गर्न सकिने छ । सबैभन्दा बढी भोट ल्याउने प्रतिस्पर्धीलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिने कम्पनीले जनाएकाे छ ।
सर्वोत्कृष्टहरूलाई आउँदो पुस ५ गते ह्यात रिजेन्सी बौद्धमा हुने आइसिटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान गरिने छ ।
यसैगरी आइसिटी अवार्ड २०२४ अन्तर्गत अन्य व्यक्तिगत र संस्था तर्फका विधाहरूमा पनि छनौट प्रकृया जारी रहेको छ । व्यक्तिगततर्फ प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्ड तथा संस्थागततर्फ डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा छनौट प्रकृया सञ्चालन भइरहेको छ ।
साथै साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा पनि छनौट प्रक्रिया चलिरहेको छ । यस विधामा सार्क राष्ट्रबाट १०० बढीको आवेदन प्राप्त भएको थियो भने सर्वोत्कृष्ट छनौटको लागि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट जुरी सदस्यहरु रहेका छन् । यस बाहेक सातै प्रदेशका एक एक स्टार्टअपलाई प्रोभिसियल स्टार्टअप आइसिटी रिकग्निसन समेत प्रदान गरिने छ । यसले मोफसलमा स्टार्टअप प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसका लागि सातै प्रदेशमा केही समय अगाडि स्टार्टअप मिटअप समेत आयोजना गरिएको थियो ।
सन् २०१६ बाट लिभिङ विथ आइसिटीले आयोजना गर्दै आइरहेको आइसिटी अवार्डको यो नवौं संस्करण हो । सर्वोत्कृष्ट छनौटका लागि ६ महिनासम्म निरन्तर सञ्चालन हुने यस कार्यक्रम सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित छ ।
अवार्डमा १४ जना विज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको विशिष्ट सल्लाहकार समिती रहको छ । ६ महिनासम्म विभिन्न २५ बढी जुरी मिटिङ र दर्जन बढी प्रि इभेन्टहरू हुने गरेका छन् ।
अवार्ड कार्यक्रमलाई नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दुरसञ्चार प्राधिकरण र नास्टको सहयोग रहेको छ । यसैगरी एनसेल मुख्य सहयोगी संस्था, इन एसोसिएसन विथमा नेपाल क्युआर र पावर्ड बाइमा स्मार्टन टेक्नोलोजीज रहेका छन । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक, एमआइटी कलेज, हाम्रो पात्रो, आइसिटी फाउन्डेसन लगायतको सहकार्य रहेको छ ।
प्रतिक्रिया दिनुहोस्