काठमाडौं । सरकारले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्र निष्काशन तथा विक्री खुला गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बुधबार (आज) एक सूचना जारी गर्दै मसिंर १३ गतेदेखि पुस १४ गतेसम्म ५ वर्ष अवधिको बचतपत्र बिक्री खुला गर्ने जनाएको छ ।
बिक्री सम्पन्न भएपछि पुस १६ गते बचतपत्र बाँडफाट हुनेछ । यो बचतपत्रमा लगानी गर्दा लगानीकर्ताले बार्षिक ७.५ प्रतिशत व्याजदर पाउनेछन् । त्यस्तै प्रत्येक ६ ६ महिनामा व्याज भुक्तानी हुनेछ ।
यो बचतपत्र नेपाली नागरिक (गैह्र आवासीय नेपाली नागरिक)ले मात्रै खरिद गर्न पाउनेछन् ।
यो बचतपत्र खरिदका लागि लगानीकर्ताले कम्तिमा १० हजार रुपैयाँ र बढिमा कुल निष्कासित रकमको सिमा नबढाई १० हजार रुपैयाँले निशेष भाग जाने अंकमा आवेदन दिन सक्छन् ।
लगानीकर्ताले यो वचतपत्र खरिदको लागि कार्यालयको वेबसाइटमा गएर इन्भेष्टमेन्ट पोर्टलबाट आवेदन दिन सक्छन् । आवेदन दिँदा प्रत्येक कागजात ५ एमबीभन्दा कमको हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाले आवेदकको खाता रुजु गरी आवेदन गरिएको रकम बराबर निष्कासन मितिसम्म रोक्का राख्नु पर्नेछ र निष्कासन मितिमा नेपाल सरकारलाई रकम बुझाउनु पर्ने भएकाले खण्डित अवधिको ब्याज रकम भुक्तानी कार्यालयले जनाएको छ ।
लगानीकर्ताले कार्यालयले प्रयोगमा ल्याएको डीओएमएस र इन्भेस्टर पोर्टलबाट दोस्रो बजारमा बेच्न पनि सकिने छ । अर्थात आफूले चाहेको बेला बचतपत्र बिक्री गरेर साँवाव्याज रकम प्राप्त गर्न सकिने छ । लगानीकर्ताले यो बचतपत्र धितो राखेर पनि कर्जा लिन सक्छन् ।
प्रतिक्रिया दिनुहोस्