काठमाडौँ । सरकारले गत सोमबार सन्तोषनारायण श्रेष्ठलाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। यो नियुक्तिसँगै सेयरबजारमा विभिन्न प्रतिक्रिया व्यक्त भएका छन्। पुँजीबजारको नियामक निकाय नै कमजोर हुँदा लगानीको वातावरण नबनेको लगानीकर्ताहरूले गुनासो गर्दै आएका छन्।
गत साउनमा संसद्को अर्थ समितिको बैठकमा बोर्डका तत्कालीन अध्यक्ष महेश बरालले गुटबन्दी, कर्मचारी अभाव, र प्राविधिक संयन्त्रको कमजोरीका कारण नियामक निकायले कुशलता पूर्वक काम गर्न नसकेको तथ्य प्रस्तुत गरेका थिए। यसबाट बोर्डको संस्थागत अवस्था झल्किन्छ।
लगानीकर्ताहरूले हालको अवस्थाले पुँजीबजारमा विश्वासको वातावरण सिर्जना गर्न नसकेको बताउँछन्। यस परिस्थितिमा नवनियुक्त अध्यक्ष श्रेष्ठमाथि जिम्मेवारी र चुनौतीको ठूलो चाप रहेको जानकारहरूको टिप्पणी छ ।
बोर्ड लामोसमय नेतृत्वविहीन बनेसँगै धेरै निर्णय र प्रक्रया रोकिँदा पुँजीबजारमा परेको असर कम गर्न तत्कालै काम सुरुगर्नुपर्ने सेयरबजारका जानकारहरु बताउँछन् ।
श्रेष्ठले अध्यक्षको जिम्मेवारी सम्हाल्दै पुँजीबजारको दिगो विकास र लगानीकर्ताको हितलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन्। उनले भने, “थुप्रै चुनौती छन्। लामो समयदेखि रोकिएका कामहरू अघि बढाउँदै पुँजीबजारको दायरा फराकिलो बनाउनेछु।”
श्रेष्ठको नियुक्तिपछि सेयरबजारमा सकारात्मक प्रभाव देखिएको छ। लगानीकर्ताहरू नवनियुक्त अध्यक्षप्रति आशावादी देखिएका छन्।
सहकार्य गरेर अगाडि बढ्न चाहन्छौ : लगानीकर्ता
पुँजीबजारमा समस्यासँगै गर्नुपर्ने कामको चाङ लागेको हुँदा नवनियुक्त अध्यक्षसँग सहकार्य गरेर अगाडी बढ्ने लगानीकर्ताहरुले बताएका छन् ।
नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष राजन लम्सालले लामो समयदेखि नेतृत्वविहीन बोर्डले नयाँ अध्यक्ष पाएपछि लगानीकर्ताहरू उत्साहित भएको बताए। उनले भने, “अध्यक्ष श्रेष्ठसँग सहकार्य गरेर बजार सुधारका लुपहोलहरू हटाउँदै स्थायित्व र दिगोपन सुनिश्चित गर्ने काममा हाम्रो सहयोग हुनेछ।”
नेपालको सेयरबजारमा लामो समयको अनुभव भएको आधारमा बजारमा देखिएका समस्या र चुनौतीका विषयमा सुझाव दिँदै सहकार्य गरेर अगाडि बढ्न चाहने लगानीकर्ताले बताएका छन् ।
“अध्यक्षसँग सहकार्य गरेर अगाडि बढ्न तयार छौँ”, लम्साल भन्छन्, “हामी लामो समयसम्म बजारमा रहेको अनुभवका आधारमा बजारमा सुधार गर्नुपर्ने कार्यहरु अहिले भइरहेका कमजोरीहरूलाई कसरी सच्याएर सही मार्गमा ल्याउन सकिन्छ विषयमा उपयुक्त सुझाव दिने तयारीमा छौ ।”
लम्सालका अनुसार नेपाल धितोपत्र बोर्डले लगानीकर्ताको हकहितको लागि अर्थमन्त्रालयमा गर्नुपर्ने लबिङ र नेप्से सिडिएससीसँग समन्वय गरेर अगाडि बढ्नुहुन्छ, जसले गर्दा बजारमा स्थायित्व, दिगोपन हुन्छ भन्ने लगानीकर्ताको अपेक्षा गरेका छन् ।
त्यस्तै, सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेलले लगानीको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अपेक्षा गरेका छन्। “लगानीकर्ताले नाफा-घाटा भन्दा पनि लगानीको सुरक्षामा बढी चासो राख्छन्। नवनियुक्त अध्यक्षले यस दिशामा प्रभावकारी कदम चाल्नुहुने विश्वास छ,” उनले भने।
फुल्लेल भन्छन्, “लगानीकर्ताले सेयरबजारमा लगानी गरेपछि नाफाघाटा आफ्नो ठाउँमा छ, सर्वप्रथम लगानी कत्तिको सुरक्षित छ भन्ने हो त्यसको लागि नवनियुक्त अध्यक्षले उपयुक्त वातावारण सिर्जना गर्नुहुन्छ भन्ने अपेक्षा छ ।”
फुल्लेलका अनुसार अध्यक्षको चुनौती धेरै छन्,उहाँले पुँजीबजारमा हालसम्म जेजति कार्य भएका छन् यो भन्दा माथि उठेर काम गर्नुपर्ने हुन्छ ।
लगानीकर्ताहरूले अध्यक्ष श्रेष्ठको कार्यकालमा नयाँ स्टक एक्सचेन्ज स्थापना प्रक्रिया र अन्य ठूला योजनाहरू छिट्टै अघि बढ्ने अपेक्षा गरेका छन्। बजारमा स्थायित्व ल्याउन अर्थ मन्त्रालय, नेप्से, र सीडीएससीसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनीहरूको सुझाव छ।
यस्तो छ साताको कारोबार
सोमबार बोर्डमा अध्यक्ष नियुक्ति हुने हल्लासँगै सेयर मापक सुचक नेप्से परिसूचक १५.८३ अंकले बढेर २६९४.६७ अंकमा पुगेको बजार मंगलबार ३३.४१ अंकले बढेसँगै २७१६.६६ अंकमा बन्द भएर नवनियुक्त अध्यक्षलाई स्वागत ग¥यो । बुधबार ३९.७० अंकले बढेर २७५६.३६ अंकमा पुगेको नेप्से परिसूचक साताको कारोबारको अन्तिम दिन भने ८.३० अंकले घटेर २७.४८.०५ अंकमा झर्यो ।
साताको कारोबारको पहिलो दिन १३.०३ अंकले घटेर २६६७.४० अंकमा बन्द भएको नेप्से परिसूचक कारोबारको अन्तिम दिन ८.३० अंकले घटेर २७४८.०५ अंकमा बन्द भएको छ । यो साता कारोबारको तीन दिन बजार बढेको छ भने २ दिन बजार घटेको छ । समग्रमा यो साता नेप्से परिसूचक ८८.४४ अंकले बढ्यो ।
अध्यक्ष नियुक्तिसँगै ३ दिन बढेको बजारमा लगानीकर्ता नाफा बुक गर्न खोज्दा साताको कारोबारको अन्तिम दिन सानो करेक्सन देखियो । नेप्सेको तथ्यांकअनुसार सोमबार कुल ३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँको कारोबार भयो ।
प्रतिक्रिया दिनुहोस्