पुस ४ मा डेरी एसोसिएसन बागमती प्रदेशको छैठौं साधारणसभा हुने


काठमाडाैँ । नेपाल डेरी एसोसिएसन बागमती प्रदेश कार्यसमितिको छैठौं साधारणसभा आगामी पुस ४ गते काठमाडौँमा आयोजना हुने भएको छ। यो निर्णय प्रदेश अध्यक्ष टीका प्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न बैठकबाट गरिएको हो।

प्रदेश सचिव श्याम घिमिरेका अनुसार साधारणसभाका लागि प्रदेशका सबै जिल्लाले आफ्ना साधारणसभा सम्पन्न गरी प्रतिवेदन प्रदेश सचिवालयमा बुझाउन निर्देशन दिएको छ।

बैठकमा उपाध्यक्ष गोपाल तिमल्सिनाले बागमती प्रदेशमा ११४ वटा साना, ठूला, मझौला र घरेलु डेरी उद्योग सञ्चालनमा रहेको जानकारी दिए। उनले हाल डेरी उद्योगले विविध चुनौतीहरूको सामना गर्नुपरेको उल्लेख गरे।

यस अवसरमा सचिव रविन्द्र हुमागाईंले डेरी उद्योगका समस्या समाधान गर्न राज्यको सक्रिय सहयोग अपरिहार्य रहेको धारणा व्यक्त गरे। बैठकमा केन्द्रीय अध्यक्ष प्रह्लाद दाहाल विशेष अतिथिका रूपमा उपस्थित थिए भने बागमती प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।