काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सन्तोषजनक रहेको बताएका छन् ।
सोमबार राति निर्माण भइरहेको विमानस्थलको रनवे र ट्याक्सी वेको स्थलगत अनुगमनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले विमानस्थल निर्माण कार्य तिब्र गतिमा भइरहेकाले समय भन्दा अगावै सम्पन्न हुने बताए । उनले यही गतिमा काम हुने हो भने दिनको १० घण्टा बन्द गर्नु नपर्ने पनि बताए ।
चैत्र १८ गतेसम्म तोकेको समय भन्दा अगावै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्दै १० घण्टा बन्द गरेर काम गर्नुपर्ने अवस्थालाई ८ घण्टामा झार्न सकिने उल्लेख गरे । उनले कामलाई निर्धारित गुणस्तरीय र निर्धारित समयमै सम्पन्न गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।
उनले हरेक परियोजनामा समयमै काम नहुने, ठेक्का तोडिने र सडक भवन अलपत्र हुने अवस्था रहेको भन्दै कम्तिमा विमानस्थलमा भइरहेको निर्माणको कामले तोकिएकै समयमा काम गर्न सकिन्छ भन्ने सन्देश दिने उल्लेख गरे ।
उनले भने, “भइरहेको एयरपोर्ट निर्माण गरेर यसको क्षमता बढाउने भन्ने हाम्रो उद्देश्यअनुसार निर्माण के कस्तो भइरहेको छ । तीन घण्टा त पहिला पनि बन्द हुन्थ्यो प्लस ७ घण्टा समेत गरेर १० घण्टा एयरपोर्ट बन्द गरेर काम हामीले युद्धस्तरमा गरिरहेका छौँ । भइरहेको काम के कति प्रगतिका साथ, कस्तो गतिका साथ अघि बढिरहेको छ, भनेर हेर्न भनेर हामी आएका हाैँ । हामीले सोचेअनुसार नै तिब्र गतिमा बढो तदारुकताका साथ सबै साइटडहरुमा काम भइरहेको हामीले देख्यौँ ।”
सोमवार राति मन्त्री पाण्डेले समानान्तर ‘ट्याक्सी वे’, इन्टरनेशनल एप्रोन’ ‘ह्याङ्गर एप्रोन’ लगायत कामको स्थलगत अवलोकन गरेका थिए । पर्यटनमन्त्रीसहितको टोलीले विमानस्थलको क्षमता अभिवृद्धि अन्तर्गत भइरहेका कामको अवलोकन गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले गत कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर अन्तर्राष्ट्रिय विमानस्थल बिस्तारको काम गरिरहेको छ । —न्युज एजेन्सी नेपाल
प्रतिक्रिया दिनुहोस्