काठमाडौँ । अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्ले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको छ ।
नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित देशभरका विभिन्न सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरी यो मनाउँदै छन् । दिवसका सन्दर्भमा यसैबमोजिम अन्तर्राष्ट्रिय र राष्ट्रिय नाराको प्रयोग गर्न/गराउन सरकारले आह्वान गरेको छ ।
साे अवसरमा नेपाल जीवनस्तर मापन सर्वेक्षण चौथो (एनएलएसएस) का तथ्याङ्कले नेपालमा अपाङ्गताको वर्तमान अवस्था र यसका विविध पक्षहरूको विश्लेषण प्रस्तुत गरेको छ। सर्वेक्षणले अपाङ्गतालाई वाशिङ्गटन ग्रुपको परिभाषाको आधारमा वर्गीकृत गर्दै चार तहमा विभाजन गरेको छ। यस अध्ययनले राष्ट्रिय स्तरदेखि प्रदेश, ग्रामीण-शहरी भिन्नता, लिङ्गगत अन्तर, र आयस्तरका आधारमा अपाङ्गता भएको व्यक्तिहरूको अवस्थालाई उजागर गरेको छ।
नेपालमा कुल जनसंख्याको ८.१ प्रतिशतले प्रकार १ (थोरै गाह्रो) को अपाङ्गताको अनुभव गरेका छन्। यसमा ३.५ प्रतिशतले प्रकार २ (धेरै गाह्रो) र १.८ प्रतिशतले प्रकार ३ (गर्न नसकिने गाह्रो) भोगेका छन्। पूर्ण अपाङ्गता अर्थात् प्रकार ४ को प्रतिशत ०.५ रहेको छ। यी तथ्यांकले अपाङ्गता भएकाहरूको अवस्था न्यून देखिए पनि, यसले धेरै नेपालीका लागि ठूलो चुनौतीहरू खडा गरेको पुष्टि गर्दछ।
प्रदेशगत विश्लेषण
सर्वेक्षणले प्रदेशगत अपाङ्गताको ठूलो भिन्नता देखाएको छ। कर्णाली प्रदेशमा प्रकार १ को अपाङ्गता ११.५ प्रतिशत रहेको छ, जुन सबैभन्दा उच्च हो। यसपछि क्रमशः सुदूरपश्चिम (१०.१ प्रतिशत), गण्डकी (१०.५ प्रतिशत) र लुम्बिनी (९.४ प्रतिशत) प्रदेशहरू रहेका छन्। अपाङ्गता दर सबैभन्दा कम कोशी प्रदेशमा ५ प्रतिशत र मधेशमा ६.२ प्रतिशत रहेको पाइएको छ।
ग्रामीण र शहरी भिन्नता
ग्रामीण र शहरी क्षेत्रमा अपाङ्गताको अवस्था पनि फरक देखिएको छ। ग्रामीण क्षेत्रमा अपाङ्गता दर उच्च छ, जस्तै बागमती प्रदेशमा ग्रामीण क्षेत्रमा प्रकार १ को अपाङ्गता ११.५ प्रतिशत छ भने शहरी क्षेत्रमा यो ७.१ प्रतिशत मात्र छ। यस्तै, अन्य प्रदेशहरूमा पनि ग्रामीण क्षेत्रमा अपाङ्गता दर धेरै रहेको देखिन्छ, जसले ग्रामीण समुदायमा स्वास्थ्य सेवा र पहुँचको कमीलाई देखाउँछ। त्यस्तै सर्वेक्षणले पुरुष र महिलाबिच अपाङ्गताको प्रतिशतमा सामान्य अन्तर देखाएको छ। महिलाहरूमा अधिकांश तहमा अपाङ्गताको प्रतिशत पुरुषहरूको तुलनामा केही मात्रामा बढी छ। यो अन्तरले महिलाहरूले भोग्नुपरेका थप सामाजिक र स्वास्थ्य समस्याहरूको संकेत गर्दछ।
आयस्तर र अपाङ्गता
आयस्तरको आधारमा गरिब समुदायमा अपाङ्गता बढी देखिएको छ। सबैभन्दा गरिब वर्गमा प्रकार १ को अपाङ्गता ९ प्रतिशत छ भने सबैभन्दा धनी वर्गमा यो ७.४ प्रतिशत मात्र छ। गरिब समुदायको उच्च अपाङ्गता दरले तिनलाई लक्षित गरेर विशेष कार्यक्रमको आवश्यकता देखिएको छ। नेपाल जीवनस्तर मापन सर्वेक्षण चौथोले नेपालमा अपाङ्गताको गहिरो अवस्थाको चित्रण गरेको छ। यसले स्वास्थ्य सेवा, शिक्षा, रोजगारी र पहुँचका क्षेत्रमा अपाङ्गता भएकाहरूले भोग्ने समस्याहरूलाई उजागर गरेको छ। यस अध्ययनका तथ्यांकलाई आधार बनाएर अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष योजनाहरू निर्माण गर्न र समावेशी विकासका अवसरहरू सुनिश्चित गर्न सरकार, नागरिक समाज र अन्य सम्बद्ध निकायहरूलाई मार्गदर्शन मिल्नेछ
प्रतिक्रिया दिनुहोस्