विद्युतीय सवारीसाधनको पूर्वाधार विकासमा मन्त्रालय प्रतिबद्ध छ: मन्त्री दाहाल


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विद्युतीय सवारीसाधनको पूर्वाधार विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४८ औं वार्षिक साधारणसभामा बोल्दै दाहालले विद्युतीय सवारीसाधन आजको आवश्यकता र समयको माग रहेको बताउँदै यसको पूर्वाधार विकासमा मन्त्रालय प्रतिबद्ध रहेको बताएका हुन् ।

उनले पछिल्लो समय ब्याट्री डिस्पोजका समस्या धेरै उठिरहेको बताउँदै त्यसको व्यवस्थापन संसारका लागि नै चुनौति बनिरहेको बताए । उनले सरकार अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन कोशिस गरिरहेको बताए ।

“इलेक्ट्रिक भेकल आजको आवश्यकता हो । र माग पनि हो । मन्त्रालयले यसको पूर्वाधार र ब्याकअप विकासमा जोड दिइरहेको छ । हुनतः इभी नै पूरा समाधान त होइन, किनभने यसका पनि धेरै प्रश्नहरु उठेका छन् । जस्तो ब्याट्री डिस्पोजका समस्या आज ज्वलन्त रुपले उठिरहेको छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेकुरा पनि उठेको छ । यसमा हामीले ध्यान दिइरहेका छौँ । तर यो विषय पनि आत्तिहाल्नुपर्ने विषय छैन । ग्लोवल्ली समस्या हो । यसबारेमा चर्चा भइरहेको छ । यसको निकास अवश्य नै निस्केला । नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ फर्काउन हामी कोशिस गरिरहेका छौँ,” उनले भने ।