सही तरिकाले वित्तीय व्यवस्थापन गरेका सहकारी संस्थाहरूमा समस्या छैन: पूर्वअर्थमन्त्री खतिवडा


काठमाडौँ । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडाले वित्तीय व्यवस्थापन गरेका सहकारी संस्थाहरूमा समस्या नदेखिएको बताएका छन् ।

बागमती प्रदेशस्तरिय सहकारी सुशासन प्रवर्द्धन अभिमुखीकरण कार्यक्रममा पूर्वअर्थमन्त्री खतिवडाले सही तरिकाले वित्तीय व्यवस्थापन गरेका सहकारी संस्थाहरू समस्यामा नपरेको बताएका हुन् ।

उनले भने, “सहकारी संस्थाहरूकाे लगानी घरजग्गामा केन्द्रित हुँदा समस्याहरू सिर्जना भएका छन्, त्यसैले यस्ता समस्या सिर्जना हुन नदिन सबै मिलेर काम गर्नुपर्छ।”

उनले अर्थतन्त्रमा अपेक्षाकृत सुधार नदेखिएको बताएका छन् । उनका अनुसार जति सहकारी संस्था बिग्रिए पनि अब सुधारको बाटोमा जानुपर्ने आवश्यकता छ । खतिवडाले सहकारीप्रति पछिल्लो समयमा धारणा सकारात्मक बन्दै गएको पनि बताएका छन्।

५ लाखसम्मको बचत फिर्ता गर्ने विषय भने बहसको बिषय बनेको उनकाे भनाइ छ। उनले भने,”सरकारले चेक काटेर फिर्ता गर्ने होइन, सरकार कसैको ऋण तिरिदिन सक्छ भने पनि यसमा संस्थाको सम्पत्ति बिक्री गरेर ५ लाखसम्म बचत फिर्ता गर्न सकिन्छ।”

सामाजिक र आर्थिक दृष्टिकोणबाट सहकारी संस्थाहरूका समस्याहरूको समाधान र सुधारको बाटो खोज्नुपर्ने उनको भनाइ छ ।