काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवारी साधनमा प्रयोग गरिएका काम नलाग्ने ब्याट्रीहरूको उचित व्यवस्थापनमा चासो नदिने आयातकर्ता, विक्रेता, र प्रयोगकर्तामाथि कानुनी कारबाही गर्ने चेतावनी दिएको छ।
महानगरले जारी गरेको सूचनामा काम नलाग्ने ब्याट्रीहरूबाट निस्कने ठोस र तरल पदार्थ तथा ग्याँसहरूले वातावरणलाई हानि पुर्याइरहेको भन्दै जिम्मेवार निकायहरूले ती ब्याट्रीहरूको सङ्कलन, भण्डारण, पुनःप्रयोग र अन्तिम विसर्जनका उपायहरू स्पष्ट जानकारी दिनुपर्ने उल्लेख छ।
सवारी साधनमा प्रयोग भएका ब्याट्रीहरूको गैरजिम्मेवार व्यवस्थापनले वातावरणीय क्षति पुर्याइरहेको तथ्य औँल्याउँदै महानगरपालिकाले काठमाडौँ वातावरण तथा प्राकृतिक संरक्षण ऐन, २०७७ को दफा ५१ अनुसार फोहोर व्यवस्थापनको दायित्व तोकिएको स्मरण गराएको छ। यस दायित्व पूरा नगर्नेलाई सोही ऐनको दफा ५२ अनुसार कानुनी सजायको व्यवस्था छ।
सम्बन्धित ऐन र कानुन हेर्न महानगरको वेबसाइट https://kathmandu.gov.np/ मा उपलब्ध लिंक प्रयोग गर्न सकिने जनाइएको छ। वातावरण संरक्षणको लागि जिम्मेवार निकायहरूले तत्काल आवश्यक कदम चाल्न महानगरले सबैमा अपिल गरेको छ।
प्रतिक्रिया दिनुहोस्