मर्जरको तयारीमा होन्डा र निसान,जापानी अटो उद्योगमा ठूलो हलचलकाे संकेत


काठमाडाैँ। दुई प्रमुख अटो निर्माता कम्पनी हाेन्डा मोटर्स र निसान मोटर्स, आपसी सहकार्यलाई गहिरो बनाउन मर्जरको बारेमा छलफलमा जुटेका छन्। लन्डनको रॉयटर्स डट कमले साे विषय खुलासा गर्दै यो वार्ता जापानी अटो उद्योगलाई अमेरिकी कम्पनी टेस्ला र चिनियाँ अटो निर्माताहरूले दिएका चुनौतीहरूसँग प्रतिस्पर्धा गर्नका लागि रहेकाे जनाएकाे छ ।

यदि दुई कम्पनीबिच मर्जर भयो भने, हाेन्डा निसानको संयुक्त कम्पनी ५४ अर्ब डलरको बजार मूल्यसहित वार्षिक ७.४ मिलियन गाडी उत्पादन गर्ने विश्वको तेस्रो ठूलो अटो समूह बन्नेछ। यो स्थान अहिले टोयोटा र भोल्क्सवागनले ओगटेका छन्।

हालै, दुवै कम्पनीले विद्युतीय गाडी (इभी)को विकासमा सहकार्य गर्ने सम्झौता गरेका थिए। तर, निसानका पछिल्ला आर्थिक समस्याहरूले यो सहकार्यलाई अझ बढी आवश्यक बनाएको छ।

चिनियाँ र अमेरिकी बजारमा कमजोर बिक्रीका कारण निसानको दोस्रो त्रैमासिक नाफा ८५ प्रतिशतले घटेको छ। कम्पनीले २.६ अर्ब डलरको लागत कटौती योजना घोषणा गर्दै ९,००० कर्मचारी कटौती र विश्वव्यापी उत्पादन क्षमता २० प्रतिशतले घटाउने निर्णय गरेको छ।

यो खबरपछि जापनकाे टोकियोकाे शेयर बजारमा निसानको सेयर मूल्य २४ प्रतिशतले वृद्धि भएको छ भने होन्डाकाे सेयर मूल्य ३ प्रतिशतले घटेको छ। मित्सुबिसी मोटर्सको सेयरमा भने २० प्रतिशतको उछाल आएको छ।

होन्डा र निसानकाबिच प्रविधि र अन्य क्षेत्रमा सहकार्यको प्रयास भइरहेको छ। छलफलको केन्द्रमा होल्डिङ कम्पनी स्थापना गर्ने, मित्सुबिसी मोटर्ससँग सहकार्यलाई थप बलियो बनाउने र मर्जरको सम्भावनाबारे विचार गरिएको छ। निसानले मित्सुबिसी मोटर्समा २४ प्रतिशत हिस्सा ओगटेको छ।

यो मर्जरले दुवै कम्पनीका भिन्न व्यवसायिक शैली र संस्कृति समायोजन गर्नुपर्ने चुनौती ल्याउन सक्छ। हाेन्डाकाे प्रविधि-केन्द्रित संस्कृति र निसानको हालको आर्थिक अवस्थाबिच मेल गराउन कठिन हुन सक्छ। साथै, यो सहकार्यले अमेरिकी बजारमा पनि राजनीतिक र आर्थिक चुनौतीको सामना गर्नुपर्नेछ, जहाँ डोनाल्ड ट्रम्पले आयातित गाडीमा २५ प्रतिशत कर लगाउने योजना अघि सारेका थिए। दुवै कम्पनीले अहिलेसम्म औपचारिक घोषणा नगरे पनि, तीन प्रमुख जापानी अटो निर्माता सोमबार टोकियोमा संयुक्त पत्रकार सम्मेलन गर्ने तयारीमा रहेको बताइएको छ।