बाह्य कारणले बैंक तथा वित्तीय संस्थामा समस्या पर्‍यो: गभर्नर अधिकारी


काठमाडाैँ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाहरू हाल बाह्य कारणले समस्यामा परेको बताएका छन्।

नेपाल बैंकर्स संघको ३८औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बाहिरी प्रभावका कारण बैंक तथा वित्तीय संस्थाहरूमा समस्या देखिए पनि स्थिति बिस्तारै सुधार हुँदै जाने बताएका हुन् ।

उनले भने, “कर्जा प्रवाह गर्दा ख्याल गरेका बैंकहरू अहिलेको चुनौतीपूर्ण अवस्थामासमेत टिक्न सक्षम भएका छन्।” उनले हालसालै एक वर्षमा एनपिएल अर्बाै रुपैयाँले बढेको उल्लेख गरे।

गभर्नर अधिकारीले सन् २०१९ मा आएको कोभिड-१९ को महामारीले विश्वकै अर्थतन्त्रमा पारेको प्रभावबारे चर्चा गर्दै नेपालमा पनि त्यसको असर पर्ने क्रम जारी रहेको बताए। “बैंक तथा वित्तीय संस्थाहरू संवेदनशील क्षेत्र भएका कारण सुधारको प्रक्रिया बिस्तारै अघि बढाउनु आवश्यक छ,” उनले भने। सकारात्मक सोच राख्दै र निराशा बिना अगाडि बढ्नुपर्ने उनको जोड थियो।