च्याउमा आत्मनिर्भर बन्दै नेपाल


काठमाडौँ । नेपालमा प्राचिन समयदेखि नै च्याउको उपभोग गरिदैँ आएको पाइन्छ । व्यवसायिक रूपमा च्याउ उत्पादन नभएपनि मानिसहरूले परापूर्वकालदेखि नै वनजंगलमा पाइने च्याउ खादैँ आएका थिए । मानिसहरूले वनजंगलमा पाइने कन्ये च्याउको उपभोग गर्दै आएकोमा वि.स. २०३०\०३१ सालमा आएर च्याउको व्यवसायिक खेतिको लागि अनुसन्धान सुरू गरिएको थियो। तत्कालिन समयमा ग्रोब्रे च्याउको खेती प्रविधिसम्बन्धी अनुसन्धान गरिएको च्याउ उत्पादक किसान संघ नेपालले जनाएको छ ।

गोब्रे च्याउको खेती प्रविधि सम्बन्धि अनुसन्धान सफल भएपछि राष्ट्रिय कृषि अनुसन्धान परिषद् अन्तर्गत बाली रोग विज्ञान महाशाखाबाट देशका विभिन्न स्थानमा च्याउ खेतिको विस्तारको लागि तालिम दिन थालिएको थियो । विसं २०३७ सालबाट देशका विभिन्न स्थानका किसानहरूलाई च्याउ खेती प्रविधि सम्बन्धि तालिम दिई यसको विस्तार गर्ने कार्यको सुरुवात भएको संघको भनाइ छ ।

संघकाअनुसार विसं २०३४\३५ सालबाट नै काठमाडौँको बलम्बु, चापागाँउ, दधिकोट हुँदै नेपालका बिभिन्न स्थानमा निरन्तर रूपमा च्याउखेती गरिदैँ आइएको छ । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाहरूले जेलिएर बनेका हुन्छन् । यी रेसाहरूलाई अंग्रेजीमा “माईसेलियम” भनिन्छ । यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रन्छन् ।

हाल नेपालमा विभिन्न प्रकारका च्याउहरू उत्पादन हुँदै आएका छन्, जस्तै गोभ्रे, कन्ये, सिताके र राजा च्याउ। यी प्रजातिहरूको व्यावसायिक उत्पादन र बजारको मागमा वृद्धि भएको छ। अहिले नेपालमा ३५ हजारभन्दा बढी किसानहरू च्याउ खेतीमा संलग्न छन् र यस क्षेत्रको कारोबार लगभग १५ अर्ब रुपैयाँको छ भने च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा छन् ।

च्याउ उत्पादनमा आत्मनिर्भरता हासिल गर्नको लागि सरकारको प्रारम्भिक सहयोग महत्वपूर्ण रहँदै आएपनि किसानहरू भने सन्तुष्ट देखिदैनन् ।च्याउको व्यवसायिक उत्पादन गरिरहेका एक किसान भने “सरकारले पछिल्लो समय कुनै पनि ठोस सहकार्य र प्रोत्साहन उपलब्ध गराएको छैन । सरकारको बेवास्ताका कारण च्याउ उत्पादनमा वृद्धि गर्न सकेका छैनौं। ”

संघका अध्यक्ष सन्तोष कार्कीले च्याउ उत्पादनको वृद्धिले आत्मनिर्भरता हासिल गर्नको साथै विदेशी बजारमा अवसरहरूको सम्भावना पनि बढाएको बताए ।उनले भने, ““सरकारले च्याउ आयात गर्नका लागि केही प्रारम्भिक कदम उठाएको थियो, जसले गर्दा यस क्षेत्रमा व्यवसायिकता बढ्न सक्यो। तर पछिल्लो समय सरकारले कुनै पनि प्रकारको सहकार्य र प्रोत्साहन उपलब्ध गराएको छैन। आज हामी च्याउ उत्पादनमा आत्मनिर्भर भएको छौं, तर यो सफलताको निरन्तरता बनाउन सरकारको सहयोग अपरिहार्य छ।”

उत्पादनमा वृद्धिसँगै घट्यो आयात
नेपालमा पछिल्ला केही वर्षहरुमा च्याउको आयात घटेको देखिन्छ । पछिल्लो केही वर्षयता केही च्याउ उत्पादनमा भएको वृद्धि र व्यवसायिक खेतीको प्रभावका कारण, नेपालमा च्याउको आयातमा घटेको हो । कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९÷८० मा नेपालले ताजा गोभ्रे च्याउको ३ लाख १७ हजार ९३३ किलोग्राम आयात गरेको थियो, जसका लागि ९ करोड ६१ लाख रुपैयाँ खर्च भएको थियो। तर, आर्थिक वर्ष २०८०/८१ मा यो परिमाण घटेर ८२ हजार ३१० किलोग्राममा झरेको छ र खर्च २ करोड ७२ लाख रुपैयाँमा सीमित भएको छ ।

मंसिर महिनासम्ममा ताजा गोभ्रे च्याउको आयात केवल १ हजार २८० किलोग्राम मात्र भएको छ, जसका लागि ४ लाख २० हजार रुपैयाँ मात्र खर्च भएको छ। उक्त तंथ्याङ्क अनुसार नेपालले अब च्याउ उत्पादनमा आत्मनिर्भरता बन्दै गएको देखिन्छ ।नेपालको च्याउ उत्पादन व्यवसायको आरम्भिक चरणमा सरकारको सक्रियता र अनुदानको भूमिका महत्वपूर्ण थियो। “धेरै किसानलाई च्याउ खेती सुरू गर्न प्रोत्साहित सहित उत्पादनको स्तरलाई सुदृढ बनायौ,” अध्यक्ष कार्कीले भने, “पछि आएर सरकारले यस क्षेत्रमा आवश्यक थप सहयोग र प्रोत्साहनको अभाव देखिदाँ किसानहरूले उत्पादनमा थप समस्या र चुनौतीहरूको सामना गरिरहेका संघका अध्यक्ष कार्कीले बताए ।”

नेपालमा अहिले व्यावसायिक खेतीको स्तरमा वृद्धि हुँदै गएको छ, र किसानहरूले विभिन्न प्रकारका च्याउ जस्तै गोभ्रे, कन्ये, किङ ओयस्टर र सिताके खेती गर्न थालेका छन्। यसले देशको च्याउ उत्पादनलाई आन्तरिक माग पूरा गर्न पर्याप्त बनाएको छ।

नेपालका अधिकांश जंगलमा विभिन्न प्रकारका च्याउहरू कुहिएर गएको उल्लेख गर्दै कार्कीले त्यस्ता खालका च्याउलाई व्यवसायीक खेतीतर्फ ल्यौजानको लागि सरकारसँग अपिल गरेका छन् । संघका अनुसार दैनिक १० हजार किलो गोलो च्याउ र ५० हजार किलो कन्ये च्याउ उत्पादन भइरहेको छ।

बिमाको आवश्यकता
च्याउ उत्पादनको क्षेत्रमा आत्मनिर्भरता हासिल गर्नका लागि सरकारले थप सहयोग र अनुदान दिनुपर्ने आवश्यकता महसुस गरिएको छ। अहिले नेपालमा च्याउ बिमाको ७५ प्रतिशत सरकारी अनुदानको प्रावधान छ, जसले गर्दा किसानहरूले बिमा गर्न सक्ने अवसर पाएका छन्। तर, बिमाको प्रभावकारी कार्यान्वयनमा समस्या देखिएको अध्यक्ष कार्कीले बताए ।

उनले भने, “बिमा कम्पनीहरूले च्याउ खेतीमा चासो कम देखाएका कारण किसानहरूले आवश्यक सुरक्षा प्राप्त गर्न सकिरहेका छैनन्।” यसका साथै, च्याउ उत्पादनमा प्रविधिको प्रयोग, भौतिक संरचनाको निर्माण र बजार व्यवस्थापनमा पनि सरकारी सहयोगको आवश्यकता रहेको किसानहरूको भनाइ छ । अध्यक्ष कार्कीले च्याउको गुणस्तर जाँच गर्नको लागि अनुसन्धान केन्द्रको स्थापना गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने, “च्याउ खेतीको लागि आवश्यक भौतिक संरचनामा अझै सुधार गर्नुपर्ने आवश्यकता छ। किसानहरूले पर्याप्त जल स्रोत, उचित तापमान र सापेक्षिक भौगोलिक क्षेत्रका समस्याहरूको समाधान खोज्नुपर्ने हुन्छ। साथै, बजार व्यवस्थापनमा पनि चुनौतीहरू छन्, जसले गर्दा किसानहरूले आफ्ना उत्पादनलाई उचित मूल्यमा बेच्न कठिनाइ भोगिरहेका छन्।”

निर्यातको सम्भावना
च्याउ उत्पादनमा आत्मनिर्भरता पुगेसँगै अब नेपालले अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति दर्ज गराउने सम्भावनामा ध्यान दिनुपर्ने छ। च्याउ उत्पादनको स्तरमा भएको वृद्धि र यसको गुणस्तरले नेपाललाई निर्यातयोग्य बनाउन सक्षम बनाएको छ।

नेपालमा च्याउ उत्पादनको गुणस्तर उच्च भएको छ र यसका विभिन्न प्रकारका च्याउहरूको बजारमा वृद्धि भएको छ। यदि सरकार र निजी क्षेत्र मिलेर निर्यातका लागि आवश्यक संरचना र रणनीति बनाउन सक्ने हो भने, नेपाल च्याउ उत्पादनबाट विदेशी मुद्रा कमाउन सक्ने सम्भावना उच्च रहेको संघका सह–अध्यक्ष सिताराम तिमिल्सनाले बताए ।

नेपाललाई चीन, भारत, थाइल्याण्ड र जापान जस्ता प्रमुख बजारमा निर्यात गर्ने अवसर रहेको र यसका लागि, च्याउ उत्पादनलाई अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादनहरूसँग मेल खाने गरी उत्पादन गर्नुका साथै बजारमा प्रतिस्पर्धा गर्नका लागि निर्यात रणनीति बनाउनु पर्ने संघको बुझाइ छ।

प्रवद्र्धनका लागि मेला

च्याउ खेतीलाई व्यवसायीक रूपमा प्रवद्र्धन गर्ने हेतुले संघले पछिल्ला वर्षहरूमा पुस १५ गते राष्ट्रिय च्याउ दिवसको दिनमा च्याउ मेला गर्दै आएको छ । सोही अनुसार पुस १५ गते अर्थात भोलि च्याउ मेला हुने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको संघले जानकारी दिएको हो ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० वटा स्टलहरूमा च्याउसँग सम्बन्धि विभिन्न विषयहरूमा प्रदर्शनी रहने अध्यक्ष कार्कीले जानकारी दिए । मेला आयोजना हुने दिन बिहान ७ बजे कालिमाटी तरकारी तथा फलफूल बजारबाट भृकुटीमण्डप ठुलो चौरसम्म मोटरसाईकल ¥याली आयोजना गरिने भएको छ ।

मेलामा च्याउका बिभिन्न परिकारहरूको बिभिन्न स्टलहरूमा प्रदर्शनी गरिने समेत संघले जनाएको छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको ब्यवहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ ।

बिभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी, राष्ट्रिय कलाकारहरूको उपस्थितीमा विशेष सांस्कृतिक कार्यक्रम लगायत कार्यक्रम आयोजना गरिने अध्यक्ष कार्कीले जानकारी दिए ।

मेलामा प्रवेश निशुल्क रहेको र च्याउका परिकारहरू निशुल्क चाख्न पाइने छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान गरिएको अध्यक्ष कार्कीले जानकारी दिए । मेला आयोजना गर्नका लागि करिब २५ लाख रुपैयाँ लगानी लाग्ने अनुमान गरिएको उनले बताए ।