काठमाडौँ । जनतमत पार्टीका अध्यक्ष डा. सिके राउतले नेपालको सूचना प्रविधि उद्योगबारे चासो राखेका छन् । नेपालको अग्रणी प्रविधि कम्पनी इन्फोडेभलपर्सको कार्यालयमा पुगेर राउतले नेपालको प्रविधि उद्योगबारे चासो राखेका हुन् ।
प्रतिनिधि सभा सदस्य समेत रहेको डा. राउतले नेपालको ठुलो सूचना प्रविधि कम्पनीमध्येको एक भएकाले इन्फोडेभलपर्सको कार्यालयमा आएको बताए । ललितपुरस्थित इन्फोडेभलपर्सको कार्यालय पुगेका डा. राउतले नेपालमा प्रविधि उद्योगको ठुलो सम्भावना रहेको भन्दै यसबारे प्रष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बेला आएको बताए ।
इन्फोडेभलपर्सको व्यवस्थापकीय नेतृत्वसँग छलफल गर्नेक्रममा डा.राउतले भने, “नेपालको पछिल्लो प्रविधि उद्योग कस्तो छ भन्नेबारे अध्ययनमा छु । यस क्षेत्रकाे नीतिगत व्यवस्थाका लागि संसदमा कुरा उठाउन पनि सूचना प्रविधि कम्पनीहरूको अध्ययनमा छु ।”
उनले नेपालका सूचना प्रविधि कम्पनीहरू विदेशी कम्पनीसँग कसरी प्रतिस्प्रधा गराउने भन्ने विषयमा स्पष्ट धारणा बनाउनुपर्नेमा जोड दिए । अब सूचना प्रविधि उद्योगहरूले पनि नीतिगत तहमा भूमिका निर्वाह गर्नुपर्नेबेला आएको डा. राउतकाे भनाइ थियाे ।
उनले भने,“अब प्रविधि कम्पनीहरूले आफ्नो भूमिका बढाउनुपर्ने बेला आएको छ । नीतिगत रूपमा कस्तो समस्या छ बोल्नुपर्छ ।”
इन्फोडेभलपर्सका रणनीति तथा नवप्रवर्धन निर्देशक उमेश रघुवंशीका अनुसार अध्यक्ष डा.राउतले प्राविधि क्षेत्र ठुलो सम्भावना बोकेको भन्दै यसमा सबैतिरबाट ध्यान दिनुपर्नेबेला आएको बताएका थिए ।
राउतलाई इन्फोडेभलपर्सका सिइओ प्रवीण सुवेदीले नेपालको प्रविधि क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराएका थिए । सिइओ सुवेदीले नेपालको प्रविधि क्षेत्रको भविष्यबारे राउतलाई जानकारी गराए ।
इन्फोडेभलपर्स सन् २००२ मा स्थापित, एक प्रमुख फिनटेक र आइसिटीप्रधान प्रदायक कम्पनी हो । कम्पनीले अत्याधुनिक वित्तीय प्रविधि, सफ्टवेयर विकास र आईटी परामर्श सेवामा विशेषज्ञता राख्ने कम्पनीको रुपमा चिनिन्छ ।
कम्पनीले बैंक तथा वित्तीय संस्थाहरू, सरकारी तथा सरकारी क्षेत्रलाइ कम्पनीले सेवा प्रदान गर्दै आइरहको छ । कोर बैंकिङ प्रणाली, मोबाइल बैंकिङ प्रणाली, एआई–चालित स्वचालन उपकरणहरू र ग्राहक सेवा र सञ्चालन कार्यक्षमता सुधार गर्न अनुकूलित सफ्टवेयर समाधानहरूमा केन्द्रीत रहेको छ।
इन्फोडेभलपर्समा २०० भन्दा बढी सूचना प्रविधिका जनशक्ति कार्यरत छन् । भविष्यको वित्तीय प्रविधिमा नयाँ दिशाहरू कायम गर्न प्रतिबद्ध रहको र थप सेवा विस्तारको अभ्यासमा रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्