काठमाडौँ । अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर समायोजन गरिएको छ। यातायात व्यवस्था विभागले आजदेखि लागू हुने गरी नयाँ भाडादर समायोजनको निर्णय गरेको छ।
सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य १३ सूचकका आधारमा ६५ प्रतिशतको मापदण्ड अपनाइएको थियो। भाडा समायोजनका लागि विभिन्न मितिमा इन्धनको मूल्यमा ५ प्रतिशत घटबढ हुँदा भाडा समायोजन गरिँदै आएको थियो। अन्तिम पटक २०८० साउन ३१ मा समायोजन गरिएको भाडादरमा अहिले फेरि संशोधन गरिएको छ।
यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, बीमा, हाककट्टी र सञ्चालन मुनाफाजस्ता सूचकहरूको मूल्यवृद्धि हुँदा भाडा समायोजन गरिएको हो। विभागले बजार अध्ययन, विश्लेषण र सरोकारवालासँगको परामर्शपछि नयाँ भाडादर लागू गरेको जनाएको छ।
नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको गत पुस ११ गतेको सहमतिमा संविधानको अनुसूची ५ र ९ तथा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को प्रावधानअनुसार अन्तरप्रदेश सार्वजनिक यातायातका भाडादर समायोजन गरिएको हो।
समायोजनपछि यात्रुवाहक सवारी साधनको भाडामा ३.३० प्रतिशत, पहाडी मार्गका मालवाहक सवारी साधनमा ०.८१ प्रतिशत र तराई मार्गका मालवाहक सवारी साधनमा ०.०५ प्रतिशतले वृद्धि गरिएको छ।
यातायात व्यवस्था विभागले सबै सरोकारवालालाई नयाँ भाडादरको कार्यान्वयन सुनिश्चित गर्न आग्रह गरेको छ। नयाँ भाडादरले यात्रुहरू र व्यवसायिक क्षेत्रका पक्षलाई समेत असर पर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्