काठमाडाैँ । विभिन्न मितिमा हराएका ३३ ओटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक विनोद घिमिरेले २५ ओटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँको गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाटार, धर्मस्थली, नयाँबसपार्क र बौद्ध लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।
आज बुझाइएका ३३ ओटा सहित २७३ ओटा सवारी साधन साउन महिनादेखी आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ भने चोरीका २८ ओटा दुई पाङ्ग्रे सवारी साधन सहित चोरीमा संलग्न ४० जना व्यक्तिहरूलाई पनि आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । आज बुझाईएका ३३ ओटा सवारी साधनहरु हराएको भनी विभिन्न मितिमा यस कार्यालयमा निवेदन परेका थिए ।
सवारी साधन जिम्मा लिए पश्चात सवारी धनिहरुले खुसी ब्यक्त गर्दै सामुहिक रुपमा ट्राफिक प्रहरीलाई धन्यवाद समेत दिएका थिए । आर्थिक वर्ष २०७९\०८० मा ४९९ ओटा र ०८०\०८१ मा ४१७ ओटा दुई पाङ्ग्रे सवारी साधन खोजतलास गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको थियो ।
प्रतिक्रिया दिनुहोस्