काठमाडौँ । नेपाल बिमा प्राधिकरणको सञ्चालक समितिको रिक्त अध्यक्ष पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्न अर्थ मन्त्रालयले आवेदन आह्वान गरेको छ। इच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन दिन सक्नेछन्।
आवेदकले बिमा ऐन, २०७९ को दफा ८ अनुसार बिमा, मौद्रिक, बैंकिङ, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानूनी विषयमा कम्तिमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ। साथै, सम्बन्धित क्षेत्रमा कम्तिमा पाँच वर्षको उच्च व्यवस्थापकीय अनुभव भएको र उच्च नैतिक चरित्रको व्यक्तिले मात्र आवेदन दिन सक्ने जनाइएको छ।
आवेदन दिन इच्छुक व्यक्तिले झुट्टा विवरण वा कागजात पेश गरेमा आवेदन रद्द हुने र प्रचलित कानुनअनुसार कारबाही गरिने अर्थ मन्त्रालयले जनाएको छ। आवेदन पेश गर्दा आवश्यक कागजात र व्यवसायिक कार्ययोजना खामबन्दी गरी पेश गर्नुपर्नेछ।
आवेदन दस्तुरका लागि रु ७ हजार ५०० राष्ट्रिय वाणिज्य बैंकको सिंहदरबार शाखामा जम्मा गरी सक्कल भौचर संलग्न गर्नुपर्ने छ। यस सम्बन्धी थप जानकारीका लागि अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्