काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रशारण संस्थाहरू सत्ता र व्यक्ति विशेषको चाकडी गर्ने संस्थाको रूपमा विकास भएको बताएका छन् ।
मंगलवार सार्वजनिक सेवा प्रसारण (पिएसबी)को पूर्वारम्भ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले कानूनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाको रुपमा विकास भएको बताएका हुन् । उनले रेडियो नेपालले लगातार ३० वर्षसम्म तत्कालिन पञ्चायतको ताबेदारी गरेको आरोप लगाए।
जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको मन्त्री गुरुङले बताए । उनले रेडियो नेपाल र नेपाल टेलिभिजनको प्रशारण सुधार गर्न विभिन्न कालखण्डमा सुझाव समिति तथा कार्यदल बनेका भएपनि संविधान निर्माण, भारतको नाकाबन्दी र भूकम्पको सामना गर्नुपर्दा ति सुझावहरू कार्यान्वयन गर्न नसकिएको बताए ।
उनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पिएसबी पास भई कार्यान्वयनमा आएको उल्लेख गर्दै अब सार्वजनिक सेवा प्रशारण संस्थाहरु सुधारको दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । उनले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले उत्कृष्टतामा विश्वास गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याए । उनले सार्वजनिक सेवा प्रशारण संस्थाहरुले विश्वभरी सूचना प्रदान गर्न नसकेपनि नेपालभर समाचार सेवा दिन सक्नुपर्ने बताए ।
नेपालभित्रका सम्पूर्ण घरहरूभित्र नेपाल टेलिभिजन हेरिने र रेडियो नेपाल सुनिने गरी विकास गर्नुपर्ने उनको भनाइ छ । उनले सार्वजनिक प्रशारण संस्थाको सिद्धान्तअनुसार अघि बढ्दै नेपाली विशेषताको आधारमा कार्यान्वयन गर्न निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्