काठमाडाैँ । गृहमन्त्री रमेश लेखकले जाजरकोट भूकम्पले गरेको हानी नोक्शानीको विस्तृत विवरण आँकलन (डिडिए) माघ महिनाभित्र गरिसक्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुधवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । उनले २०७९ सालको डोटी भूकम्पका साथै जाजरकोट र बझाङ भूकम्पबाट भएको भौतिक क्षतिको पुनर्निर्माणको लागि सरकार योजनावद्ध तयारीमा जुटेको बताए ।
उनले भूकम्पबाट प्रभावित नागरिकका लागि अस्थायी आवास बनाउन ५० हजार सहयोग गर्ने निर्णय भइसकेको बताए। उनले भूकम्प प्रभावित नागरिकका लागि अस्थायी आवास निर्माणसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट पारित भई कार्यान्वयनमा गइसकेको उल्लेख गरे । उनले भूकम्प र मनसुनजन्य विपद्बाट क्षति भएका निजी निवासहरुको पुनःनिर्माण, बलिया संरचना र सुदृढ पूर्वतयारीको महत्वबारे देशव्यापी बहस गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचना तथा सम्पदाहरुको पुनर्निर्माणको काम सम्पन्न भइसकेको दाबी समेत गरे ।
प्रतिक्रिया दिनुहोस्