ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसक्यौँः प्रमुख महर्जन


काठमाडाैँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजनामा अघि बढिसकेको बताएका छन् ।

बिहीवार राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा डिप्लोमा इन्जिनियर एसोसिएसन नेपालद्वारा आयोजित ‘भूकम्प र विपद्  जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा उनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनःनिर्माण सम्पन्न भइसकेको बताए । उनले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको उल्लेख गरे ।

ललितपुर महानगरभित्र खुला ठाउँ नभएको कारण केही समस्या भइरहेको उनकाे भनाइ छ । स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाएँ रहेको उनले बताए । उनले पहिले नै नेपाल आर्मी लगायतले खालि ठाउँ लगिसकेको कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताए । 

महानगरलाई स्मार्ट सिटी बनाउन संघीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने उनकाे भनाइ छ ।