काठमाडाैँ । भारत मोबिलिटी ग्लोबल एक्स्पाे २०२५ आज (१७ जनवरी) बाट सुरू भएको छ। यो प्रदर्शनी भारतको मोटर उद्योगमा अहिलेसम्मकै ठूलो मानिएको छ। पहिलोपटक ३४ वटा अटोमोबाइल कम्पनीहरूले भाग लिएको यो एक्स्पाे सन् १९८६ मा आयोजित पहिलो अटो एक्स्पाेपछि सबैभन्दा ठूलो संख्यामा सहभागी रहेकाे जनाइएकाे छ । यो प्रदर्शनी ‘द मोटर शो’ को आधिकारिक नामले पनि चिनिन्छ।
सोसाइटी अफ इन्डियन अटोमोबाइल म्यान्युफ्याक्चरर्सका अनुसार, प्रदर्शनीमा मारुती सुजुकी, हुन्डाई, मर्सिडीज, बिएमडब्लु बीवाइडी जस्ता ठूला ब्रान्डहरूले आफ्ना नयाँ मोडेल प्रस्तुत गरिरहेका छन्। भारत मोबिलिटीको यो दोस्रो संस्करण हो भने अटो एक्सपो मोटर शोको १७औं संस्करण हो। यो प्रदर्शनी २२ जनवरीसम्म जारी रहनेछ।
यसपटकको प्रदर्शनीमा कम्पनीहरूको ध्यान विशेषगरी इलेक्ट्रिक सवारी साधनहरूमा केन्द्रित छ। मारुती सुजुकीको ई-भिटारा, हुन्डाई क्रेटा ईभी, एमजीको साइबरस्टर, कियाको ईभी ६ फेसलिफ्ट र सिरोस, स्कोडाको एन्याक र एलरोक, तथा टाटा मोटर्सको ह्यारियर ईभी र सिएरा ईभीजस्ता कम्पनीहरूले आफ्ना नयाँ माेडलहरू शाेकेश गर्ने भएका छन् ।
दुई पाङ्ग्रे सवारी साधनतर्फ टिभिएस मोटर कम्पनी, बजाज अटो, हिरो मोटोकर्प, होन्डा मोटरसाइकल र स्कुटर इन्डिया, सुजुकी मोटरसाइकल र यामाहा जस्ता अग्रणी ब्रान्डहरू प्रदर्शनीमा सामेल छन्। त्यस्तै, वोल्भो आयशर कमर्सियल भेहिकल्स, अशोक लेल्यान्ड, जेबीएम र कमिन्स इन्डिया जस्ता व्यवसायिक सवारी साधन निर्माता कम्पनीहरूको पनि उपस्थिति रहेको छ।
यसपटक एथर इनर्जी, ओला इलेक्ट्रिक, टीआई क्लीन मोबिलिटी, ईका मोबिलिटी र विनफास्ट जस्ता इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरूले आफ्ना नयाँ प्रविधि र मोडेल प्रस्तुत गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्