काठमाडाैँ महानगरद्वारा सवारी साधन प्रदूषण नियन्त्रणका लागि नयाँ मापदण्ड लागू


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सवारी साधनबाट हुने प्रदूषण नियन्त्रण गर्न वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७, प्रदूषण नियन्त्रण मापदण्ड २०८१, र फोहरमैल संकलन तथा ढुवानी कार्यविधि २०८१ लागू गरेको छ। यी मापदण्डअनुसार सवारी साधनको प्रदूषण स्तरलाई कडाइका साथ जाँच गरिने महानगरले जनाएको छ।

नयाँ मापदण्डअनुसार पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनका लागि अलग-अलग प्रदूषण सीमा तोकिएको छ। सन् १९८० भन्दा पुराना पेट्रोल सवारी साधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशतसम्म हुनुपर्नेछ भने सन् १९८१ वा त्यसपछि उत्पादन भएका सवारी साधनको लागि यो सीमा ३ प्रतिशतसम्म तोकिएको छ। यस्तै, तीन पाङ्ग्रे सवारी साधनको लागि सन् १९९१ सम्म उत्पादन भएका साधनमा कार्बन मोनोक्साइडको मात्रा ४.५ प्रतिशतसम्म हुनुपर्ने छ।

डिजेल सवारी साधनमा पनि कडाइ गरिएको छ। सन् १९९४ सम्म उत्पादन भएका साधनको धुवाँको घनत्व अधिकतम ७५ हर्टिज स्मोक युनिटसम्म हुनुपर्ने छ भने सन् १९९५ वा त्यसपछि उत्पादन भएका सवारी साधनको लागि यो सीमा ६५ हर्टिज स्मोक युनिट तोकिएको छ।

महानगरपालिकाले ट्राफिक प्रहरीको सहकार्यमा प्रदूषण जाँचलाई तीव्र बनाएको छ। जाँचका क्रममा तोकिएको सीमा भन्दा माथि प्रदूषण देखिएमा ती सवारी साधनलाई मर्मत गर्न सिफारिस गरिन्छ। महानगरले नागरिकहरूलाई प्रदूषण नियन्त्रणमा सहयोग गर्न र आफ्नो सवारी साधनको समयमै मर्मत तथा सफाइ गर्न अनुरोध गरेको छ।