काठमाडौँ । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई सम्पत्ति कर तिरेको छ । २०८१ पुस २८ गतेको मूल्याङ्कनबमोजिम वडा २६ कार्यालय लैनचौरमा संस्थानले हिजाे १ करोड २ लाख ८७ हजार ९२६ रुपैयाँ २ पैसा कर दाखिला गरेको हो । वडासचिव केदार रिमालकाअनुसार आर्थिक वर्ष २०४९\०५० देखि २०८१\०८२ सम्मको घरजग्गारसम्पत्ति करको मूल्याङ्कन गरेर कर दाखिला भएको हो ।
संस्थानसहित सरकारका स्वामित्वमा भएका १२ वटा व्यवसायिक संघसंस्थालाई कर दाखिला गर्न महानगरपालिकाको राजस्व विभागले पत्राचार गरेको थियो । महानगरपालिकाले जारी गरेको राजस्व ऐन २०७५ तथा सालवसाली जारी हुने आर्थिक ऐनले सम्पति करको दररेट तथा संकलन प्रक्रियाको वारेमा व्यवस्था गर्ने गरेको छ ।
यसअनुसार नक्सापास भएको २ वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गारसम्पत्ति कर गणना हुने व्यवस्था छ । संवैधानिक र कानुनी व्यवस्थाबमोजिम पत्राचार गरेर कर दाखिला गर्न अनुरोध गरिएको राजस्व विभागका प्रमुख दिपक अधिकारीले जानकारी दिए ।
ऐनबमोजिम कर दाखिला नगर्ने करदाताहरुलाई राजस्व विभाग वा वडा कार्यालयले पहिलो पटक पैँतिस दिनको समय तोकेर पत्र, इमेल, वा म्यासेजमार्फत कर दाखिला गर्न पत्राचार गर्नेछ । यस समय अपुग भएर थप समय माग गरेमा राजस्व विभागका प्रमुखको शिफारिसमा प्रमुख प्रशासकीय अधिकृतले बढीमा १० दिनसम्म अवधि थप गर्न सक्ने व्यवस्था छ ।
महानगरपालिकाको आर्थिक वर्ष २०८०\०८१ को यथार्थ आय १० अरब ६४ करोड ६७ लाख ९१ हजार रुपैयाँ थियो । चालु आर्थिक वर्षमा १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ आय अनुमान गरिएको छ । जसमध्ये २०८१ माघ ३ गतेसम्ममा ५ अरब ५९ करोड ९८ लाख ९३ हजार २९६ रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्