काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरू थप्नु भन्दा सुरू भएका योजनाहरू पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् ।
नेपालगञ्जमा आयोजीत संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय सुर्खेत अन्तर्गतका कार्यालय प्रमुखहरु सहभागी कार्यशालाको आईतबार उद्घाटनका क्रममा उनले स्राेत साधन र आवश्यकता अनुसार सरकारले नयाँ योजनाहरू थप्दै जान सक्ने भए पनि थालिएका योजनाहरू अलपत्र पारिने क्रम अब अन्त्य हुनुपर्ने बताएका हुन् ।
“सरकारले आफुसँग भएको स्राेत साधन तथा आवश्यकता अनुसार नयाँ योजना तथा आयोजनाहरू नियमित रूपमा थप्ने र ल्याउने नियमित प्रकृया हो,”मन्त्री दाहालले भने, “तर अब नयाँ योजना र आयोजनाहरु थप्न तर्फ भन्दा थालिएका कामहरु पूरा गर्न तर्फ जोड दिनु होला, अवरुद्ध र क्रोनिक आयोजनाका कारण नागरिकमा निराशा बढ्ने स्थिति आउनु हुँदैन ।”
डिभिजन तथा आयोजना कार्यालयहरुले गर्नु पर्ने काम र अघि बढाउनु पर्ने प्रकृयालाई गति दिन निर्देशन दिँदै उनले नीतिगत तथा कानुनी समस्याका कारण कार्यसम्पादनमा समस्या भए मन्त्रालयले सहजीकरण गर्ने तर काम अवरुद्ध हुन नदिईने समेत बताए ।अहिले प्रमुख दलहरू सहभागी भई स्थिर सरकार बनेको भन्दै उहाँले अहिलेको सरकारलाई असफल हुने छुट नभएको पनि बताए ।
मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल सहित विज्ञहरूले आयोजना सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा अभिमुखीकरण गर्ने छन् । यसअघि पोखरा, मोरङ र काठमाडौँमा यसै प्रकारको अभिमुखीकरण तथा प्रशिक्षण सम्पन्न भएको मन्त्रालयका ईन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्