कालीमाटीमा मोबाइल फुड ल्याब प्रयोग गरी तरकारी तथा फलफूलमा विषादी अवशेष परीक्षण


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यानको प्रयोग गरी कालीमाटी तरकारी र फलफूल बजारमा जीवनाशक विषादी अवशेषको परीक्षण गरेको छ।

विभागको र्यापिड रेसपोन्स टिमले मंगलवार राति ११:०० बजेदेखि बुधवार बिहान ४ बजेसम्म कालीमाटीस्थित बजारमा तरकारी र फलफूलको अवशेष परीक्षण कार्य गरेको हो ।

अनुगमनका क्रममा विभागले २२ प्रकारका विभिन्न तरकारी र फलफूलका १५० वटा नमूना संकलन गरेको थियो । परीक्षणमा आलु, प्याज, गोलभेडा, फूलगोवी, बन्दाकोभी, खुर्सानी, धनिया, फर्सी, काँक्रा, रायो साग, ब्रोकाउली, तरुल, च्याउ, लसुन, हरियो प्याज, बोदी, चम्सूर, भन्टा, गाँजर, हरियो सिमी र सुन्तला जस्ता सामग्री परिक्षणमा राखिएका थिए।

परिक्षणमा केही सामग्रीमा जीवनाशक विषादी अवशेषको उपस्थिति पाइएको छ। आरबिपिआर विधिअनुसार, ३५ प्रतिशत भन्दाकम इन्जाईम इन्हिबिशन भएका सामग्रीलाई खान योग्य मानिन्छ भने ३५ प्रतिशत देखि ४५ प्रतिशत इन्जाईम इन्हिविसन भएका सामग्रीलाई पुनः परिक्षण र क्वारेन्टाइन गरिने प्रावधान छ।

कालीमाटी बजारमा भएको परीक्षणमा चितवनबाट ल्याइएको हरियो सिमीको नमूनामा ४२ प्रतिशत इन्जाईम इन्हिबिशन देखिएकोले सो सिमी ३ दिनका लागि क्वारेन्टाइन होल्ड गरिएको छ। बाँकी सबै नमूनामा जीवनाशक विषादीको मात्रा मापदण्ड अनुसार सुरक्षित रहेको पाइएको थियो ।

परिक्षण समयमा १०८ वटा गाडीका नमूनाहरू परिक्षण गरिएका थिए, जसमा विभिन्न २० जिल्लाहरूका उत्पादित तरकारी र फलफूलहरु समावेश थिए। त्यस्तै, एक गाडी भारतबाट ल्याइएको थियो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याव भ्यानमा अत्याधुनिक उपकरण जडित छ । यसले बजार अनुगमनमा महत्वपूर्ण भूमिका खेलिरहेको विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले बताए । उनका अनुसार, मोबाइल ल्याब भ्यानको प्रभावकारी प्रयोगले खाद्य सुरक्षा र उपभोक्ता स्वास्थ्यको रक्षा गर्ने दिशामा महत्वपूर्ण कदम चालेको छ।

यस अभियानले खाद्य व्यवसायी र उपभोक्ताहरुलाई सचेत र सजग बनाउँदै स्वास्थ्यप्रद खाद्य सामग्रीको सुनिश्चितता पनि गरेको विभागकाे भनाइ छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आगामी दिनहरूमा पनि यस्ता अनुगमन कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गर्ने योजना बनाएको जानकारी दिएकाे छ ।