भारतबाट आयात भएको न्यून गुणस्तरको चना र राजमाकाे दाल नेपालगन्ज भन्सार नाकामा रोक्का


काठमाडौँ । भारतबाट आयात गरिएका चना र राजमाको दालमा न्यूनस्तर देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालगन्ज भन्सार नाकामा उक्त सामग्री रोक्का गरेको छ। विभागका अनुसार, नेपालगन्जस्थित खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले दालहरूको परीक्षण गर्दा मापदण्डभन्दा बढी खराब दाना र किराको क्षति फेला परेको थियो।

खाद्य विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जारी गरेको प्रेस नोटमा कशौधन ट्रेडर्सले आयात गर्न ल्याएको ९ हजार ६०० केजी चनाको दाल र नेन्शी सप्लायर्सले ल्याएको २३ हजार २८० केजी राजमाको दाल आयात गर्न नमिल्ने भन्दै भन्सार कार्यालयलाई प्रतिवेदन पठाइएको उल्लेख छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा परिभाषित व्यवस्थाअनुसार, खाद्य पदार्थ आयात गर्नुअघि विभाग वा सम्बन्धित कार्यालयबाट अनिवार्य स्वीकृति र प्रवेश अनुमति लिनुपर्ने नियम रहेको छ। विभागले नियम उल्लङ्घन गर्ने व्यवसायीहरूलाई कानूनी कारबाही गरिने चेतावनी दिएको छ।

यस कदमले उपभोक्ताहरूको स्वास्थ्य सुरक्षामा योगदान पुग्ने विश्वास विभागले व्यक्त गरेको छ। साथै, विभागले आयातकर्ताहरूलाई मापदण्ड पालना गर्न पुनः आग्रह गरेको छ।