काठमाडौँ । भारत सरकारले नेपालका फर्म तथा कम्पनीहरूको लागि छुट्याएको ९० हजार मेट्रिक टन गहुँ आयातका लागि आवेदन खुला गरिएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले इच्छुक फर्म तथा कम्पनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी सात दिनभित्र निवेदन दिन आह्वान गरेको छ।
विभागका अनुसार कुनै पनि फर्म वा कम्पनीले न्यूनतम १०० मेट्रिक टनदेखि अधिकतम १० हजार मेट्रिक टनसम्म गहुँ आयात गर्न निवेदन दिन सक्नेछन्। गहुँ आयात गर्न चाहने कम्पनीहरूले फर्म दर्ता प्रमाण-पत्र, आयात इजाजत प्रमाण-पत्र, दर्ता प्रमाण-पत्र, फर्म नवीकरण वा कम्पनी अद्यावधिक पत्र र आर्थिक वर्ष २०८०/८१ को कर चुक्ताको प्रमाण-पत्रसहित निवेदन दिनुपर्नेछ।
गहुँ आयातका लागि आवेदक कम्पनीको चुक्तापुँजी कम्तीमा एक करोड रुपैयाँ हुनुपर्ने र आयात रकमको अग्रिम भुक्तानी राष्ट्रिय सहकारी निर्यात लिमिटेडलाई गर्नुपर्नेछ। कोटा वितरणमा फर्म वा कम्पनीले अघिल्लो वर्ष गरेको राजस्व योगदान र खाद्यान्न आयातको अनुभवलाई प्राथमिकता दिइने विभागले जनाएको छ।
अनुमति प्राप्त गरेपछि तीन महिनाभित्र गहुँ आयात सम्पन्न गरिसक्नुपर्ने प्रावधान राखिएको छ। साथै, आयात गरिएको गहुँको गुणस्तर, मौज्दात, मूल्य र बिक्रीसम्बन्धी विवरण साप्ताहिक रूपमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पेश गर्नुपर्नेछ। आयातित गहुँको अनुगमनसमेत विभागले नै गर्नेछ।
गहुँ आयातका लागि आवेदन प्रक्रियाबारे थप जानकारी विभागको आधिकारिक वेबसाइट https://doc.gov.np/ मा उपलब्ध छ।
प्रतिक्रिया दिनुहोस्