काठमाडाैँ । भारतको जोगवनीदेखि संखुवासभाको किमाथाङ्का हुँदै चीन जोड्ने कोशी राजमार्गअन्तर्गतको संखुवासभाको खाँदबारीदेखि किमाथाङ्कासम्मको सडक ‘ब्रेक थ्रु’ गरिएको छ ।
संखुवासभाको जिल्ला सदरमुकाम खाँदबारीदेखि चीनसँगको उत्तरी सीमा नाका किमाथाङ्कासम्म पर्ने १५८ किलोमिटर सडकको ट्रयाक खन्ने काम सम्पन्न भएसँगै उक्त सडकको सोमवार ‘ब्रेक थ्रु’ गरिएको हो । खाँदबारी–किमाथाङ्का सडक अन्तर्गत च्याम्ताङ्गदेखि घोङघोप्पासम्मको साढे १० किलोमिटर सडकको चट्टानसहितको भीर नेपाली सेनाले फुटाएर ट्रयाक खुलाएसँगै आज सङ्घीय सरकारका तीन मन्त्रीको उपस्थितीमा उक्त सडकको ‘ब्रेक थ्रु’ गरिएको हो ।
उक्त सडकको भोटखोला गाउँपालिका–१ च्याम्ताङमा संखुवासभाका प्रतिनिधीसभा सदस्य एवं उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल हुनुहुन्थ्यो । उक्त सडकको ‘ब्रेक थ्रु’ सँगै भारतदेखि चीनसम्मको कोशी राजमार्गको ट्याक खोल्ने कार्य सम्पन्न छ । ब्रेक थ्रुसँगै सडकको स्तरउन्नती र चौडा बनाउने काम हुनेछ ।
कार्यक्रममा उर्जामन्त्री खड्काले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले त्रिदेशीय नाका जोड्ने उक्त सडक सञ्चालनमा आएपछि नेपाल–भारत र चीनका अलावा बंगलादेशले फाइदा लिनसक्ने उल्लेख गरे । उनले सडकको स्तरोन्नतीका लागि आवश्यक वजेट विनियोजन गर्न भौतिक पूर्वाधार मन्त्रालयलाई आग्रह गरेका थिए । किमाथांका क्षेत्र हुँदै नेपालको प्रसिद्ध नदी अरुणको बहाव रहेकाले उक्त क्षेत्रमा अन्य धेरै जलविद्युत् आयोजना निर्माण गर्न सकिने मन्त्री खड्काको भनाई छ ।
कार्यक्रममा रक्षामन्त्री राईले नेपाली सेनाद्वारा निर्माण भइरहेको उक्त सडक मुलुक विकासमा महत्वपूर्ण पूर्वाधारका रूपमा रहेको बताए । उनले समयअगावै सडकको ट्याक खोल्ने काम सम्पन्न भएको भन्दै नेपाली सेनालाई धन्यवाद दिए । रक्षामन्त्री राईले पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री दाहालले उक्त सडकखण्डको बाँकी काम सम्पन्न गर्नका लागि वजेटको अभाव हुन नदिने बताए । उनले उक्त सडकखण्डमा पर्ने पुल निर्माणका लागि सरकारले आवश्यक वजेट विनियोजन गर्ने उल्लेख गरे । भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले उक्त सडक निर्माणले भोटखोलाको आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताए ।
कार्यक्रममा नेपाली सेनाले आफूले गरेको कामको प्रगतीबारे जानकारी गराएको थियो । नेपाली सेनाले सडक निर्माणका लागि वजेट अपर्याप्त रहेको भन्दै बजेटको सुनिश्चित गरे चाँडो सडक चौडाईको काम सम्पन्न गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्