काठमाडाैँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिवद्धता जनाएका छन् ।
काठमाडौँमा न्युज एजेन्सी नेपालले आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । जलवायु परिवर्तनका मुद्दालाई विद्यालयको अनिवार्य शिक्षाका रुपमा पनि लागू गर्दै लैजानुपर्ने अवस्था रहेको उल्लेख गरे ।
जलवायु परिवर्तनसम्बन्धि मुद्दाको बारेमा जानकारी दिन सरकारले पाठ्यक्रममा समेट्ने प्रक्रिया अघि बढाइसकेको जानकारी दिए ।
उनले जलवायु परिवर्तनका मुद्दाहरु वन तथा वातावरण मन्त्रालयले मात्रै बोकेर नसक्ने भन्दै तल्लो स्तरबाटै स्थापित गर्दै र जनचेतना फैल्याउँदै लैजान जरुरी रहेको बताए । मन्त्री ठकुरीले सरकार युवाका मुद्दाहरुलाई गम्भीरताका साथ लिएर युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्न अघि बढिरहेको बताए ।
निकट भविष्यमै युवा नीति पास गर्ने तयारीमा रहेको जानकारी दिँदै मन्त्री ठकुरीले युवाका आवाज एकीकृत गरेर अगाडि बढ्न नेपाल सरकार तत्पर रहेको बताए । मन्त्री ठकुरीले आगामी वर्षको बजेटमा जलवायु परिवर्तनको मुद्दामा युवाको सहभागिता र सक्रियतालाई अक्र बढी स्थान दिन प्रयास र पहल गर्ने दाबी गरे ।
‘‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय युवाहरुका मुद्दाहरुलाई गम्भीरताका साथ लिइरहेका छौँ । युवाहरुका मुद्दाहरु, युवाहरुले उठाएका आवाजहरुलाई कार्यान्वयन गर्नका लागि हामीले अघि बढाइरहेका छौँ । युवाको संरचनागत हिसावले केन्द्रदेखि तल्लो स्थानीय तहसम्म पनि युवाहरुका आवाजहरु सुनिने, युवाहरुका मुद्दा स्थापित गर्नका लागि संरचना स्थापित भएका छन् । निकट भविष्यमै युवा नीति पास गर्न गइरहेका छौँ‘‘, उनले भने ।
कार्यक्रममा बोल्दै गोरखापत्र संस्थानका महाप्रवन्धक लालबहादुर ऐरीले जलवायु परिवर्तनको मुद्दा पर्यावरणको मुद्दा मात्र नभई सशक्तिकरणको मुद्दा पनि भएको बताए । उनले जलवायु परिवर्तनले राजनीतिक, आर्थिक, सामाजिक, पहिचान, सांस्कृतिक लगायतका बहुविषयहरुमा सरोकार बताए ।
उनले भविष्यको पुस्तालाई जलवायु परिवर्तनका मुद्दाका बारेमा जानकारी दिने उद्देश्यले मुद्दाबारे बहस र छलफल जरुरी रहेको बताए । जलवायु परिवर्तनको मुद्दा जलवायु सम्मेलन (कोप) का लागि नभइ आफ्नो जीवनसँग जोडेर हेर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्