काठमाडाैँ । फेडरेशन अफ अटोमोबाइल डिलर्स एसोसिएसनले जनवरी २०२५ को सवारी साधन बिक्रीको प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा मारुति सुजुकीले पुनः अग्रस्थान कब्जा गर्दै आफ्नो वर्चस्व कायम राखेको छ। त्यस्तै हुन्डाई इन्डिया दोस्रो स्थानमा रहँदा, महिन्द्राले तेस्रो स्थानमा उल्लेखनीय प्रगति गरेको छ। केही अटोमोबाइल कम्पनीहरू बिक्री वृद्धिको लाभ उठाउन सफल भए पनि केहीले गिरावटको सामना गर्नुपरेको छ।
मारुति सुजुकीले जनवरी महिनामा १ लाख ७३ हजार ५९९ यात्रु सवारीसाधन बिक्री गर्यो, जुन अघिल्लो वर्षको तुलनामा चार प्रतिशत वृद्धि हो। कम्पनीको निर्याततर्फ पनि उल्लेखनीय सुधार देखिएको छ। जनवरी २०२४ मा २३ हजार ९२१ युनिट गाडी बाहिरी बजारमा पठाएको मारुति सुजुकीले यो वर्ष जनवरीमा २७ हजार १०० युनिट निर्यात गरेका छ , जसले १३ प्रतिशतको वृद्धि भएकाे देखाउँछ ।
हुन्डाई इन्डियाकाे व्यापार भने अघिल्लो वर्षको तुलनामा केही कमजोर देखिएको छ। कम्पनीले जनवरी २०२५ मा ६५ हजार ६०३ युनिट बिक्री गरेका छ, जुन २०२४ को जनवरी महिनामा बिक्री भएका ६७ हजार ६१५ युनिटभन्दा कम हो। घरेलु बजारमा कम्पनीको बिक्री ५.४४ प्रतिशतले घटेको छ, तर निर्याततर्फ भने सुधार देखिँदै १०.४७ प्रतिशत वृद्धि भएको छ।
त्यस्तै महिन्द्राले बजारमा आफ्नो मजबुत उपस्थिति देखाएको छ। कम्पनीको बिक्रीमा १९.२४ प्रतिशतको वृद्धि भएको छ। जनवरी २०२५ मा कुल ५२ हजार ३०६ युनिट बिक्री भएकोमा, जसमध्ये ५० हजार ६५९ युनिट भारतीय बजारमै बिक्री भएका छन् । कम्पनीले हालै सार्वजनिक गरेका बीइ ६ र एक्स् इभी९इ इलेक्ट्रिक गाडीहरूले भारत एनक्याप क्र्यास टेस्टमा ५-स्टार सुरक्षा रेटिङ प्राप्त गरेपछि उपभोक्ताको विश्वास अझै मजबुत बनेको देखिन्छ।
यता टाटा मोटर्स भने बिक्रीमा निरन्तर गिरावटको सामना गरिरहेको छ। जनवरी २०२५ मा कम्पनीले ४८ हजार ३१६ यात्रु सवारीसाधन बिक्री गरेकाे छ , जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत कम हो। विशेषगरी इलेक्ट्रिक गाडीहरूको बिक्री २५ प्रतिशतले घटेको छ, जसले कम्पनीको समग्र व्यापारमा असर पारेको छ।
प्रतिक्रिया दिनुहोस्