चैत १३ गतेदेखि पोखरामा पहिलो ‘वाडा अटो शो’ आयोजना हुने


काठमाडौँ । पोखरामा पहिलो पटक ‘वाडा अटो शो’ आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसाेसिएसन (वाडा) का नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत तथा सम्मान गर्न नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले काठमाडौँमा एक कार्यक्रम आयोजना गर्दै उक्त शो आयोजना गर्ने निर्णय गरेको हो।

नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वाडाका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाको आवश्यक सहयोगको लागि औपचारिक आग्रह गरेका थिए। छलफलका क्रममा उक्त अटो शोको सम्भाव्यता र मोडालिटीबारे विस्तृत विमर्श भएको थियो।

छलफलमा वाडा अटो शो २०८१ चैत १३ देखि १७ सम्म पोखरामा आयोजना गर्ने प्रारम्भिक योजना तय गरिएको छ। सम्भाव्यता अध्ययन गरी त्यसको प्रतिवेदनका आधारमा आगामी तयारीहरू अघि बढाइने भएको छ। यस प्रक्रियामा नाडाले मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने बताइएको छ।

नाडाले सन् १९९८ देखि नाडा अटो शो प्रत्येक वर्ष राजधानीमा आयोजना गर्दै आएको छ। यसै सन्दर्भमा, गत भदौमा भृकुटीमण्डपमा सम्पन्न १६औं संस्करणको नाडा अटो शो २०२४ पछि नाडाले अन्य प्रदेशहरूमा समेत अटो शो आयोजना गर्ने सम्भाव्यता अध्ययन अघि बढाउने योजना बनाएको छ।

कार्यक्रममा नाडाका निबर्तमान अध्यक्ष डा.ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्य समिति सदस्य कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योति, आमन्त्रित सदस्य अनुपकुमार बराल, नविन कुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल, प्रगुन राजभण्डारीलगायतको उपस्थिति रहेको थियो।

वाडातर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन केसी, महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्य समिति सदस्य शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी र कार्यालय सचिव गोविन्द पौडेलको उपस्थिति रहेको थियो।