प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेशमाथिको अस्वीकारका प्रस्तावउपर छलफल गरी पारित गर्ने तयारी


काठमाडाैँ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रस्तावउपर छलफल गरेर टुंग्याइने भएको छ

बुधवार सिंहदरबारमा सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग गरेको छलफलमा अध्यादेशमाथि ५१ वटा प्रश्ताव अस्वीकार गर्नुपर्छ भन्नेमा परेको कसरी समय व्यवस्थापन गरेर टुंग्याउने भन्नेबारेमा छलफल गरिएको सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

उनकाअनुसार बिहीवारको बैठकमा अध्यादेशमाथिका अस्वीकारका प्रश्तावमा छलफल हुने र अध्यादेश बिहीवारकै बैठकमा पारित गर्नेगरी तयारी गरिएको छ । उनले बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का नेता पुष्पकमल दाहालले सम्बोधन गर्ने र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने कार्यतालिका निर्धारण गरिएको बताए ।

उनले बिहीवारकै बैठकमा भ्रष्टाचार सम्बन्धी प्रतिवेदन, सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन र आर्थिक कार्यविधिसँग सम्बन्धित विधेयक फिर्तासँग सम्बन्धित प्रतिवेदन पेश गर्ने तयारी रहेको बताए । सभामुख घिमिरेसँगको बैठकमा संसदको क्यालेण्डरबारे छलफल भएको नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

उनले प्रमुख प्रतिपक्ष दलका नेताले बोल्ने कार्यक्रम तय भएको र सरकारको तर्फबाट स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बोल्नुहुने बताए । उनले अध्यादेशको विपक्षमा परेको प्रश्तावमा संसदमा एकजनाले प्रस्तावका रूपमा लैजाने र प्रश्तावकले प्रश्तुत गरेको प्रश्तावउपर समर्थकहरुले बोलेर विषय टुंग्याइने बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले सरकारले ल्याएको अध्यादेशमाथि अस्वीकारको प्रस्तावउपर छलफल गरेर कसरी टुंगो लगाउने भन्नेबारेमा छलफल भएको बताए । उनले प्रतिनिधि सभा नियमावलीले भनेअनुसार राजनीतिक पार्टीहरुबीच सहमति गरेर आफ्ना कुराहरु राख्ने र त्यसलाई निर्णयार्थ प्रस्तुत गर्ने सहमति बनेको बताए । 

बिहीवारको प्रतिनिधि सभा बैठकमा शुन्य समय, विशेष समय, प्रमुख प्रतिपक्ष दलका नेताको सम्बोधनपछि अध्यादेशमाथिका अस्वीकारका प्रश्तावउपर छलफल हुने कार्यतालिका रहेको बताए ।