काठमाडाैँ । नेपाल प्रहरीको प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरले जनशक्ति,भरपर्दो सूचनाको कमीले भन्सारमा चोरी पैठारी पूर्णरूपमा रोक्न नसकिएको बताएका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा बोल्दै प्रहरी प्रमुख कुँवरले भन्सार नाकामा हुने चोरी पैठारी पूर्णरुपमा रोक्नसक्ने अवस्था नभएको बताएका हुन् ।उनले जनशक्ति कम भएकाले सबै ठाउँमा प्रहरी नभएको तथा भरपर्दो सूचनाको कमी र अस्वस्थप्रतिस्पर्धाले प्रहरीलाई खबर गरेर एकातिर पठाउने र अर्कोतिरबाट सामान भित्र्याउने काम हुने गरेको समस्या निम्त्याएको उल्लेख गरे ।
उनले अहिलेको जनशक्ति प्रयोग गरेर सरकारको चोरी पैठारी नियन्त्रण गरी राजश्व अभिवृद्धि गर्ने हकमा नेपाल प्रहरी सधैँ लाग्ने प्रतिवद्धता जनाए । उनले नेपाल प्रहरीले करिब ३ अर्बको अवैध रुपमा भित्रिएको सामान समाउने र बुझाउने काम गरेको बताए । उनले हरेक हप्ता तराईका जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीसँग तुलना गरी काम गर्ने गरिरहेको जानकारी दिए ।
सशस्त्र प्रहरी वल,नेपालका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दक्षिणतर्फ २५४ वटा बिओपी रहेको बताए। उनले भारतसँगको सीमामा मानिस र सवारी साधन आवात जावात गर्नसक्ने ९२२ वटा खुला सीमाना रहेको उल्लेख गरे । उनले ९२२ वटा नाका प्रायः खाली रहेको उल्लेख गरे । उनले त्यो ठाउँमा सुरक्षा निकायहरुको उपस्थिति नभएको जानकारी दिनुभयो । हरेक नाकामा सुरक्षाको लागि जनशक्ति नभए भने प्रविधिको प्रयोग गर्नुको विकल्प नभएको उल्लेख गरे ।
उनले सीमानामा बस्ने नेपाली नागरिकलाई सुविधाहरु उपलब्ध गराउन आवश्यक रहेको बताए । उनले भन्सार सिमामा बस्ने नागरिकलाई भारतीय बजारमा जाँदा १ सय रुपैयाँमा चीनि पाइन्छ भने नेपाली बजारमा १४० रुपैयाँ पर्ने भएकाले सबै भारतीय बजारमा किन्न जानेर चिनीसँगै चामल पनि ल्याउने गरेको उल्लेख गरे ।
उनले भारतीय बजारमा जान र आउन रोक्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले नीतिगत रुपमा नै पोकामा सामान ल्याउने प्रवृत्ति रोक्न आवश्यक रहेको बताए । सीमामा नागरिक सम्पन्न नभएसम्म सुरक्षा निकायले सूचना पाउन मुस्किल हुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्